छ महिना मात्र भयो रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको । गत असारमा बनेको रास्वपाको संगठन देशभर फैलिसकेको छैन । तर, छाेटाे समयमा प्रतिनिधिसभा सदस्य चुनावमा अप्रत्यासित मत पायो । मतदातको मन र मत दुवै हात पार्यो । ‘यो आशा अपेक्षा र निराशाको मत हो,’ विजयी भएपछि सभापति लामिछानेले चितवनबाट भने ।
अहिलेसम्म मतदान केन्द्रमा रास्वपाको बझिरहेको घण्टीको मत हेर्दा संसदमा चौथो शक्तिको रूपमा उदाउने देखिन्छ । यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ रास्वपाले ६ सिट हात पारेको छ । चितवन २ मा लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । उनले ४९ हजार २ सय ६४ पाए । उनीसँग नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३४ हजार २ सय ८१ मतान्तरले हारे । श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याए ।
याे रास्वपाले पाएको मतले सकारात्मक सन्देश दिएको बताउँछन् लामिछाने । ‘एकएक मतले जिम्मेवारी दिएको छ । सकारात्मक रूपमा लिएर जिम्मेवारी पूरा गछौँ,’ उनले भने ।
त्यसैगरी काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर ४ मा डा. तोसिमा कार्की र चितनव १ मा हरि ढकाल निर्वाचित भएका छन् । अझै केही स्थानमा रास्वपाले अग्रता लिइरहेको छ ।
उता समानुपातिकतर्फ रास्वपा तेस्रो स्थानमा छ । तीन लाखभन्दा बढ्ता मत ल्याएर थ्रेस होल्डको सीमा पनि कटाएको छ । अर्थात् औपचारिक रूपमा अब राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । उसले समानुपातिकमा कति मत ल्याउँछ यकिन छैन । यही अनुपातमा मत बढ्दै गयो भने संसदमा चौथो शक्ति हुने लगभग निश्चत देखिन्छ । चौथो शक्ति बनेमा रास्वपा सरकारमा जाला या प्रतिपक्षमा बस्ला चासोको विषय बनेको छ ।
कस्तो समीकरणमा रास्वपा सरकारमा जान्छ ? कस्तो अवस्थामा प्रतिपक्षमा बस्छ त ?
मतको आधारमा निर्णय
मतको अन्तिम परिणामको प्रतिक्षामा छ, रास्वपा । आफ्नो पार्टीले जित्ने सिट र अरू दलले पाउने सिटको हिसाब गरेर मात्र रास्वपा सरकारमा जाने वा नजाने निर्णय गर्ने मनस्थितिमा छ । ‘अहिले नै निर्णय गरेको छैन । अहिले मिहीन ढंगले हेरिरहेका छौँ,’ लामिछानेले भने, ‘देशभरको सबै परिणाम आएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं ।’
अन्य पार्टीको नतिजा हेरेर पनि सरकारमा सहभागी हुने वा नहुने निर्धारण गर्ने संकेत रास्वपाले दिएको छ । ‘के गर्दा मुलुकको हित हुन्छ त्यो भूमिका निभाउँछौँ । अन्य दलको अवस्था हेरौँ,’ उनले भने ।
अहिले नै फुरुक्क हुने स्थिति नरहेको बताउँछन् रास्वपाका प्रवक्ता डा. मुकुल ढकाल । ‘हामीबिना पनि सरकार बन्न सक्छ । अहिले नै फुरुक्क हुने स्थिति छैन । पहिले कस्तो नम्बर आउँछ, त्यसपछि निर्णय लिन्छौँ,’ उनले भने ।
देउवा प्रधानमन्त्री बने सरकारमा नजाने संकेत
अहिलेको मत परिणामले नेपाली कांग्रेस पहिलो दल बन्ने देखिन्छ । तर अहिले भइरहेको सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावान पनि उत्तिकै छ । तथापि, नयाँ सिराबाट नयाँ समीकरण बन्ने निष्कर्ष रास्वपाको छ । यस्तो अवस्थामा ठूलो दल कांग्रेस बनेर सरकारको नेतृत्व गर्ने अवस्था आएमा रास्वपाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार नगर्ने सन्देश दिएको छ ।
जनताले नयाँ विकल्प खोजिरहेकाले कांग्रेसबाट नयाँ अनुहार प्रधानमन्त्री बनेमा सरकारमा सहभागी हुन सक्ने रास्वपानिकट नेताहरू बताउँछन् । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । थापा प्रधानमन्त्री बनेमा रास्वपाले सहयोग गर्ने स्थिति देखिन्छ । ‘उहाँ (गगन थापा) संसदीय दलको नेता बन्न सक्नुहुन्छ हुँदैन थाहा छैन । यदि देउवा नै बन्नुभयो भने हामी सरकारमा जाने स्थिति रहदैँन,’ रास्वपाका एक नेताले भने ।
एमाले अध्यक्ष ओलीप्रति नरम
अहिलेको मत परिणामले दोस्रो ठूलो दल एमाले बन्ने देखिन्छ । एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति आएमा प्रधानमन्त्री केपी ओली बन्ने सम्भावना रहन्छ । ओलीप्रति भने रास्वपा नरम देखिएको छ । तर, नरम भए पनि ओली प्रधानमन्त्रीमा दोहोरिन नहुने मत पनि रास्वपाको छ ।
‘ओलीसँग केही लचक हो तर उहाँको पनि रिपिटेसनको कुरा आउँछ,’ ती नेताले भने, ‘एमाले वा कांग्रेस जो भए पनि नयाँ सेट आयो भने सरकारमा जाने सम्भावना रहन्छ ।’
सरकारमा सहभागी हुन आफूहरूको मुद्दामा प्रतिबद्धता जनाउनुपर्ने सर्त रास्वपाले राखेको छ । ‘नागरिकको जनजीविकाको मुद्दा, र पहिले भएका भ्रष्टाचार के गर्ने ? भ्रष्टाचार नगर्ने प्रतिबद्धता हुनुपर्छ,’ सभापति लामिछानेले भने ।
रास्वपाले नेतृत्व गर्ने सम्भावना छ ?
राजनीति सम्भावनाको खेल हो । रास्वपाका सभापति लामिछाने सरकारको नेतृत्व गर्ने सम्भावनालाई नकार्दैनन् । ‘राजनीति सम्भावा नै सम्भावानाको ठाउँ हो । नेतृत्व गर्ने सम्भावना पनि छ,’ उनले भने, ‘अहिले कुनै निर्णय गरेको छैन ।’ यदि पुरानै नेता प्रधानमन्त्रीमा दोहोरिने अवस्था आएमा रास्वपा प्रतिपक्षमा बस्ने सोचमा छ ।
सरकारमा जाने नजाने निर्णय भोटिङबाट
रास्वपा सरकारमा जाने नजाने भन्ने निर्णय गर्न जनताको राय सुझावसहति मत पनि लिने तयारी गरेको छ । अनलाइन भोटिङबाट सरकारमा जान हुने वा नहुने के मा बढी मत आउँछ त्यहीअनुसार निर्णय लिने योजना रास्वपाको छ । ‘सबै मत परिणाम आएपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर निर्णय गछौँ । अहिले नै सबैकुरा भन्न हतार हुन्छ,’ प्रवक्ता ढकालले भने ।