रामशरण गैरे
‘धर्म’ शब्द संस्कृत भाषाको अक्षर ‘ध्री’ बाट उत्पन्न भएको बुझिन्छ । धर्मको अर्थ हो-‘त्यो जसले पुष्टि गर्दछ।’यसले सर्वमान्य‘नैतिक मूल्य’ तथा‘ब्रह्माण्डीय कानून’ लाई जनाउँछ। अंग्रेजी ‘रिलिजन’ र संस्कृत शब्द ‘धर्म’ एउटै शब्द होइनन् ।क्याम्ब्रिज अङ्ग्रेजी शब्द कोशको अनुसार रिलिजन शब्दको अर्थ ‘ईश्वर र पूजामा विश्वास गर्नु’ हो । हिन्दूले प्रयोग गर्ने धर्म भन्ने शब्द अंग्रेजीको रिलिजन शब्द भन्दा फरक र विस्तृत शब्द हो । धर्म शब्दलाई ईश्वर र अलौकिक शक्तिमा विश्वास नगर्नेहरू पनि आफ्ना आस्थालाई व्याख्या गर्न प्रयोग गर्दछन् ।
हिन्दू मान्यता अनुसार सबै जीवजन्तु तथा निर्जीव वस्तुहरूको नैसर्गिक कार्य नै तिनको धर्म हो । उदाहरणका लागि- मह बनाउनु मौरीको धर्म हो । दूध दिनु गाईको धर्म हो । प्रकाश दिनु सूर्यको धर्म हो । बग्नु नदीको धर्म हो । यसैगरी मानव जातिको पनि एक निश्चित धर्म हुन्छ।जीविका आर्जनको दबाब र समाजमा व्याप्त विकृतिहरूको प्रभावले मनुष्य आफ्नो मूल स्वभावबाट टाढिन्छ ।
हिन्दु आस्थामा धर्म भन्नाले त्यो व्यवस्थालाई जनाउँछ, जसबाट प्राणी र ब्रह्माण्ड को सम्बन्ध कायम भएको छ । यसले स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र जिउने सही तरिका आदिलाई जनाउँछ । बुद्ध आस्थामा धर्मले ब्रह्माण्डको नियम, कानुनलाई बुझाउँछ, तर यसबाट बुद्धले प्रतिपादित गरेका शिक्षादीक्षालाई पनि समेट्छ । त्यसैगरी जैन आस्थाले तीर्थंकरद्वारा प्रतिपादित शिक्षादीक्षालाई जनाउनुका साथै मानव जातिको नैतिक उत्थान र शुद्धीकरणका उपायहरूलाई पनि समेटेको छ ।
विज्ञानको अहिले सम्मको स्विकृत सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ती करिब १४ अर्ब वर्ष पहिले अचानक एउटा ठुलो बिष्फोटबाट भएको र यसको अन्त हुने कुरामा पनि विश्वास गरिन्छ ।तर धार्मिक मान्यता अनुसार यो सारा ब्रह्माण्डको सृष्टि ‘र्याण्डम’ रुपले घटित हुने घटनाबाट नभइ कुनै ‘सुपर नेचुरल पावर’ ले नियमसंगत तरिकाले सृष्टि गरेको र उहाँकै निर्देशन अनुसार अनन्त कालसम्म चक्रीय रुपमा चलिरहन्छ ।
वेदान्तमा उल्लेख भएअनुसार, ब्रह्माण्डको उत्पत्ती शुन्यवाट नभइ यसको एकदम सुक्ष्म अवस्थाबाट भएको हो ।जसरी वीउ रुख भएर जमिन बाहीर नदेखिन्जेल सम्म रुखको अस्तित्व नभएको भान हुन्छ त्यसै गरि आफ्नो अत्यन्त सुक्ष्म अवस्थामा रहेको वेला ब्रह्माण्डको पनि त्यस्तै अवस्था हुन्छ । यस्तो अवस्थालाइ वेदान्तमा ‘ब्रम्ह’ अवस्था भनेको छ । रुखको लागि वीउ एकदम सुक्ष्म अवस्था हो भने वीउको लागि रुख बृहत (ग्रस) अवस्था हो । जसरी वीउबाट रुख र रुखबाट वीउ सम्म एक चक्र पुरा हुन्छ र यो क्रम चलिरहन्छ त्यसै गरि ब्रह्माण्डको पनि सुक्ष्म रुप र बृहत रुप चक्रिय रुपमा चलिरहन्छ ।
यो अवधिलाइ संस्कृत भाषामा ‘कल्प’ भनिएको छ ।यसरि विज्ञानले बिग व्याङ भन्दा पुर्वको अवस्था के थियो भन्न असमर्थ देखिन्छ । यसका साथै एकदम ‘र्याण्डम’ पाराले उत्पन्न भएको बिग व्याङ त्यसको केही समयपछी किन एकदम नियमित तरिकाले अगाडि बढ्यो त? भन्ने कुराको जवाफ पनि विज्ञानले दिन सकेको देखिदैन । जस्तो: पृथ्वीले एकैछिन एक्कासी आफ्नो गति बन्द गरिदिने हो भने यसमा भएका जीवजन्तु हुत्तिएर कहाँ पुग्लान? सुर्य र पृथ्वीको दुरी अलिकति पनि अहिलेको भन्दा कम भएको भए जीवनको शुरुवात हुन सम्भव हुने थियो कि थिएन? गुरुत्वाकर्षण बलको मात्रा अलिकति कम भएको भए के हुन्थ्यो? जस्ता कुराहरुको जवाफ‘अनियमित तवरले घट्ने सम्भावनायुक्त घटनाहरु’ मा आधारित वैज्ञानिक सिद्धान्तहरुले दिन सकेको देखिदैन ।
त्यसैले मनुष्यका लागि उसको मूल स्वभावको खोज र अभ्यास धर्म हो । धर्म भनेको ‘सत्य’ हो, असत्य कुरा धर्म हुन सक्दैन । धर्मभन्दा ठूलो केही पनि होइन । निर्बलले बलवानलाई, यहाँसम्म कि अधर्मी राजालाई पनि जित्न धर्मको प्रयोग गर्नुपर्ने हुन्छ । धर्म भनेको सत्य नै हो । त्यसैले यदि कुनै व्यक्तिले सत्य बोल्दछ भने उसले धर्म बोलेको मानिनुपर्दछ ।
खासगरी धर्म भनेको अदृश्य शक्ति उपरको बिश्वास हो। जब विश्वास हुन्छ तब त्यसको उपासना वा पूजा गरिन्छ, पूजाको अर्थ मान्यता दिनु हो।हामीले गरिरहेको सत्कर्म नै सबैभन्दा ठूलो धर्म हो। जब मनमा सुविचार आउँछ तव मनमस्तिष्क भित्रबाट नै सकारात्मक सोचाइ आउँछ। त्यो नै धर्म हो। धर्म देखिने चिज होइन मन भित्रभित्रै महसुस हुने सत्यता नै धर्म हो।
धर्म यस्तो शक्तिशाली औजार हो, जसले असंख्य मानिसहरुलाई भावनात्मक रुपमा एकीकृत गर्नसक्छ र साथसाथै एकापसमा विभाजित गर्न पनि सक्छ । धर्मले आत्मानुशासन सिकाउँछ, तर हिंसा र अशान्ति पनि निम्त्याउँछ । धर्म समाजका रोगहरुको जडी ओखती हो भने आफैं सबैभन्दा ठूलो रोग पनि हो । धर्म दमकल पनि हो, बारुद पनि हो । त्यसउसले धर्मसँग जोडिएका कुनै पनि विषय वस्तुलाई राज्यदेखि मिडियासम्मले अत्यन्तै सतर्कता पूर्वक सम्बोधन गर्नु पर्ने हुन्छ । अन्यथा सानो भूमरीले डरलाग्दो आँधीको रुप लिनसक्छ । धर्मका नाममा समाज विथोलिएको मात्रै होइन, देशै तहसनहस भएका उदाहरण संसारमा थुप्रै छन् ।
धर्म मानिसको अन्तरात्माबाट उत्पन्न हुने विश्वास हो । पहिला लगानी र त्यसपछि प्रतिफल प्राप्त गर्ने कुण्ठित नियत व्यापारिक मानसिकता हो । यसरी धर्म कर्पोरेट बन्दै गरिरहेको छ । हिन्दु धर्ममा गरिने कर्मकाण्डी जन्म न्वारान प्रतबन्ध विवाह तथा मृत्यु संस्कार जस्ता अनेकौँ गति विधिमा धर्म शास्त्रका विधि जान्ने पण्डितहरूले आफ्नो ज्ञानको मूल्य लिने गएको पाइन्छ । यसरी पछिल्लो समयमा कर्मकाण्डी क्रियाकलाप समयको आधारमा दान लिने कर्पोरेट कल्चरको विकास हुँदै गइरहेको छ ।
धर्मलाई व्यापार बनाई वैदिक सनातनधर्मलाई भाँडभैलो पार्ने उद्देश्यले इण्डियामा विभिन्न सम्प्रदायहरू, विभिन्न भगवान र गुरुहरू उत्पन्न गर्नु नौलो कुरा होइन । भागवत लगाउँदा वा यज्ञ, कोटिहोम गर्दा वेद अनुसार नगर्नु धर्ममाथि आक्रमण हो । हाम्रा कथित गुरु, गुरु आमाको यो कथित धर्मावतारका कारण वैदिक सनातन धर्म संकटमा परेको छ ।
वेदले भन्छ- व्याख्याहरू अनन्त हुन सक्दछन् ।धर्मको यसप्रकारको बहुआयामिक चित्रणले गर्दा हिन्दू धर्मको कोही पनि ऋषि-मुनिले आफूलाई हिन्दू धर्मको प्रवर्तक भनेनन्।सत्यको पनि कोही प्रवर्तक हुन सक्दछ?सत्यले त आफूलाई आफैं प्रमाणित गर्दछ।
धर्मको शाब्दिक अर्थ धारण गर्नु, लिनु, मान्नु वा त्यसको घेरामा रहनु भन्ने हुन्छ। धर्म मानिसको आस्था, विचार, व्यवहार र जीवन पद्धतिसँग सम्बन्धित सामाजिक र नैतिक विषय हो । अर्को अर्थमा भन्ने हो भने धर्म भनेको अदृश्य शक्तिमाथि गरिने विश्वास र भक्तिभाव हो । धर्मलाई समाज कल्याण र सामाजिक उपकारका कार्यसँग जोडेर पनि व्याख्या गरेको पाइन्छ। जस्तैः पार्टी पौवा बनाउनु, चौतारो बनाउनु, कुवा पोखरी बनाउनुलाई पनि धार्मिक कार्य मानिन्छ। धर्मको कुनै भौगोलिक सीमा हुँदैन, जो अदृश्य हुन्छ र मानव मस्तिस्कमा समावेश भएको हुन्छ, अनि संसारभरी फैलिरहन्छ ।
हिन्दु धर्ममा ज्ञान–विज्ञानको अथाह भण्डार समाविष्ट छ । यो यस्तो धर्म हो जसले सधै सत्य बोल भन्छ, सबैको भलो चिताउँछ, शान्तिको कामना गर्छ, मानिसहरु लाई असल मार्गमा हिँड्न प्रेरित गर्छ, पुनर्जन्ममा विश्वास राख्छ, खराब काम गर्ने हरुले यसको परिणाम भोग्नुपर्दछ भन्छ। यो धर्मले अनेकौं प्रकारका परम्पराहरु लाई प्रतिनिधित्व गर्छ ।
धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ।सम्भवतःअबको समय धार्मिक बहसको समय हुन सक्छ। किनभने धर्मको बारेमा जिज्ञासा बढ्दो छ र धार्मिक साम्राज्य विस्तार गर्ने तत्त्व पनि दिन/प्रतिदिन क्रियाशील देखिँदै छन्। धर्मलाई धारण गर्ने, अनुशरण गर्ने, धर्मोपदेशको पालना गर्नेदेखि धर्मका नाममा विभिन्नखालका गतिविधि गर्ने सबैको थलो बन्दैछ नेपाल।
तर यतिबेला धर्म शब्द राजनीतिक, संविधान, समाज, समुदाय, वर्ग, कतै धर्म परिवर्तन गरे रोग निको हुने, कतै धर्म परिवर्तन गर्न नपाइने, आदि आदि क्षेत्रका विषयसँग जोडिएर चर्चामा आउने गरेको छ। त्यसैले आमसर्वसाधारणलाई धर्म भनेको के हो भन्ने बोध हुन कठिन पर्नु स्वाभाविकै पनि हुन्छ। वास्तवमा भन्ने हो भने धर्म शब्दले धेरैको ध्यानाकर्षण गर्न खोजिरहेको देखिन्छ, जुन कुरा जायज एवम् अर्थकर पनि हुनसक्छ र होस् पनि।
धर्म शब्दको अर्थ र व्याख्या नियत अनुकूल हुने गरेको पाइन्छ। सबै विषय, वस्तु, जीवजन्तु, तत्वको आ–आफ्नै धर्म हुन्छ। सूर्यको ताप, पानीले भिजाउने भनेजस्तै मानवको धर्म के हो? हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन आदिमध्ये कुनै हो कि? अरु नै छ? चिन्तन गर्न सक्नुपर्छ। यो धर्म र त्यो धर्म भनेर भइरहेको विवाद के हो? र, यस्ता धर्म र मान्छे तथा मानव समाजको के सम्बन्ध हुन्छ? यस्ता यी धर्म कसरी बने र कसरी चले? कुन धर्मसँग यो भूमिको तथा यहाँका नागरिकको के सम्बन्ध हुन्छ? त्यसबारे पनि सचेत नागरिकले जान्नुपर्छ। यतिबेला नेपालीले राष्ट्रधर्म अर्थात स्वधर्म, राष्ट्रियता, मौलिकता चिन्न सक्नुपर्ने घडी आएको छ।
मानवता अर्थात मानव धर्म नै मान्छेको धर्म हो। मान्छेमा हुनपर्ने मानवीय गुणको विकास र परिपूर्णतालाई मानव धर्म भनिन्छ। मानवमा मानवीय गुण विकासको परिपूर्णताका लागि धेरै सनातनशास्त्रहरूले मार्गनिर्देश गरेका छन्। जो वेद वेदान्तीय शास्त्र हुन्। यिनै मार्गदर्शनलाई आत्मसात गर्न नसक्दा मानव समाज मानव समाज नभएर दानव समाज जस्तो भइरहेछ, मानव चेतना मानव चेतनाबाट नभएर दानवीयताबाट अगाडि बढेको छ। मानव समाजमा मानवीयता को क्रिया कलाप कम पाइन्छ।
जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने तत्व मध्ये धर्म एक हो ।विश्वको कुल जन सङ्ख्या मध्ये ८६ प्रतिशत मानिसहरु कुनै न कुनै धर्मप्रति आस्थावान रहेका छन्। विश्वमा प्रचलित सबै धर्महरुको आ–आफ्नो इतिहास, मूल्य, मान्यता र परम्पराहरु रहेका छन् । विश्वका मानिसहरुले मान्ने प्रमुख धर्महरुमध्ये हिन्दु धर्म तेस्रो ठूलो धर्ममा पर्दछ।हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । हिन्दुहरुले मान्ने हरेक चाडपर्वमा अनेक प्रकारका सामाजिक, सांस्कृतिक र परम्परागत मौलिक मान्यता तथा महत्वहरु रहेका छन् ।
यहाँका मानिसहरू परापूर्वकालदेखि हिन्दुधर्म मान्छन् । हिन्दुधर्मको मूल आधार वेद हो । हजारौं हजार वर्ष अगाडि संस्कृत भाषामा लेखिएका हिन्दु धर्मका सारहरु विश्व मानव जातिको लागि अमूल्य युगान्तकारी र अमूल्य निधि पनि हो वेदको विस्तार यहीँका वेदव्यासले गरेका हुन् । हिन्दुहरूको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन् ।
रामायण लेख्ने वाल्मीकि यतै बस्थे। हरेकहिन्दुको घरमा पुजिने शालिग्राम गण्डकी नदीमा पाइन्छन्। विश्वमा जहाँ बसे पनि हरेक हिन्दुले नेपालको पशुपति लाई आराध्यदेव मान्छन्। मुक्तिनाथ, देवघाट नगई नहुने तीर्थ ठान्छन् । हिन्दु धर्ममा नेपाल धर्तीको सम्मान हुने भएकाले हिन्दु धर्म नेपालको मौलिक रैथाने धर्म हो र यो धर्म नेपालको पहिचान पनि हो । हिन्दु धर्मलाई सनातन धर्म भनेर पनि बुझिन्छ जसको अर्थ परापूर्वदेखि चलिआएको वा मान्दै आएको भन्ने हो ।
मानवमा आउने चेतनात्मक अनुभूति, आभाष तथा तत्त्वबोध आत्मबोध हँुदा सबै लाई एउटै हुने गर्छ। सत्यज्ञान, आत्म तथा तत्वबोधको चेतनाको अनुभूति छुट्टाछुट्टै हुँदैन। त्यसैले नै आद्यगुरु शङ्कराचार्यले अद्वैत वेदान्तको सिद्धान्त प्रतिपादन गर्नुभएको हो भन्न सकिन्छ। संसारभरका मानव जातिमा हुने आत्मबोध–ज्ञानको चेतनाभाष एउटै हुन्छ। यही सिद्धान्तमा दृढ सङ्कल्पित छ वैदिक सनातन धर्मदर्शन। यसैलाई आत्मसात गर्दै आएको हुनाले हिन्दु धर्मलाई वैदिक सनातन हिन्दु धर्म भनिएको हो।
हिन्दु धर्मको उत्पत्ति वा प्रादुर्भावको विषयमा चर्चा गर्दा यो इन्दुस भ्याली अर्थात् सिन्धु घाँटीको मानव सभ्यतासँग गएर जोडिएको बुझिन्छ । यो सभ्यता इशापूर्व ३३०० देखि १७०० सम्म रहेको भन्ने कुरा विभिन्न अध्ययन, अनुसन्धान र खोजले देखाएको पाइन्छ।विश्वको प्राचीनतम् सभ्यताहरु इजिप्ट र मेसोपोटामिया को सभ्यताहरु जस्तै इन्दुस भ्यालीको सभ्यता पनि एक महत्वपूर्ण र परिस्कृत सभ्यता हो ।यो सभ्यताले दक्षिण एसियाको उत्तर पश्चिमी भू–भागहरु समेटेको थियो जो हालको पाकिस्तान, र भारतको भू–भागहरुमा पर्दछ ।
यो सभ्यताको ठूलो र प्रख्यात शहरहरु मोहेन्जोदारो र हरप्पा रहेका थिए जुन शहरहरुमा ३०,००० देखि ६०,००० मानिसहरु बसोबास गर्दथे यो त्यसबेलाको निकै ठूलो जनघनत्व हो, जो हालको पाकिस्तानमा पर्दछ । यस उपत्यकामा सदियौंदेखि मानिसहरु बसोबास गरेको र यस स्थान तत्कालीन समयमा विश्वको मानव बसोवास गरिरहेको अन्य स्थानहरुका बासिन्दाहरु भन्दा सभ्य भएकोले अन्य स्थानका मानिसहरु यसतर्फ अकर्षित हुन थाले ।
युरोप लगायतका भू–भागबाट मानिसहरुको बसाई सरी आउने क्रम सुरु भयो, यो उपत्यकामा मानव वस्ती बाक्लो हुन पुग्यो र नयाँ आउनेहरुले विषेशतः पर्सियनहरुले सदियौंदेखि बसोवास गरिरहेकाहरुलाई हिन्द (हिन्दु) भनी उल्लेख गर्न थाले । यस सभ्यतामा पुराना देवीदेवताको आकृति जस्तो विभिन्न मूर्तिहरु फेला परेकोले यो स्थानबाट नै हिन्दु धर्म प्रादुर्भाव भएको भन्ने विश्वास पनि गरिन्छ । खोज, अन्वेषण र अनुसन्धान गर्नेहरुले सिन्धु भन्ने शब्दबाट अपभ्रंश भई हिन्दु शब्द भएको भनी उल्लेख गरेका पनि छन् ।
हिन्दु शव्द धर्म (रिलिजन) होइन । यो शव्दले संस्कृतिलाई जनाउछ। पर्सीयालीहरु ले पाँचौं शताव्दी इसापूर्व ताका सिन्धु नदी पश्चिमको भूभागमा शासन गरेका थिए। उनीहरु “स” लाई “ह” उच्चारण गर्दथे।स को सट्टा ‘ह’ उच्चारण गरेपछि सिन्धु, सप्ता, असुरलाई क्रमश हिन्दु, हप्ता र अहुर आदि। उनीहरु सिन्धु नदीदेखि पूर्व बङ्गालको खाडी सम्मको मानव संस्कृति, समाज, धर्म आदिलाई सिन्धुपूर्वको भनेर हिन्दु भनी सम्बोधन गर्दथे।
शिक्षा, स्वास्थ र नैतिकताको क्षेत्रमा हिन्दु धर्मले देखाएको कतिपय बाटो आज संसारका असङ्ख्य मानिसले अङ्गालेका छन् । विश्वका धेरै देशका कानुन तथा अन्तर्राष्ट्रिय कानुनहरुमा समेत समावेश भएको मानव अधिकार र कानुनको शासन जस्ता प्रजातान्त्रिक मूल्य मान्यताहरु हिन्दु धर्ममा हजारौं वर्ष अगाडिदेखि नै प्रचलित विषय हो । हिन्दु धर्मले परापुर्वकालदेखि नै मानिसलाई योगा गर्न, ध्यान गर्न र असल मानिसको रुपमा जीवन व्यतित गर्न सिकायो जो आजका अन्य धर्मावलम्बीहरुले पनि बुज्दैछन् ।
हिन्दु धर्मको प्रमुख स्रोतको रुपमा वेदलाई लिइन्छ । वेदहरुमध्ये ऋग्वेद सबैभन्दा प्राचीनतम् ग्रन्थ हो । यसमा देवी–देवताहरुको स्तुति गरिएको छ । वेदहरु सबै श्रुती परम्पराबाट संग्रहित र संरक्षित हुँदै आएको ग्रन्थ हो । ऋग्वेद ऋषी वेदब्यासले लेखेको बताइन्छ, जो मानव सभ्यताको लागि अमूल्य ग्रन्थ र अभिलेख हो । यो वेद विश्वको प्रथम प्रमाणिक ग्रन्थ पनि हो ।
यसमा आधुनिकतम ज्ञान–विज्ञानका प्राथमिक विषयहरु विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको पाइन्छ, जसमा अर्थशास्त्र, समाजशास्त्र लगायतको बिषयहरुमा प्रकाश पारिएकोछ।यसवेदमा वैदिक समाज, सभ्यता, सामाजिक संरचना, राज्यका शासकीय पद्धति जस्ता विविध पक्षमा विश्लेषण गरिएको छ । यो वेदलाई मानव सभ्यताको विकासको क्रममा प्राप्त भएको अद्भूत ग्रन्थको रुपमा पनि लिने गरिन्छ किनभने इतिहासको त्यो कालखण्डमा यसको रचना भएको थियो जुन समयमा यसप्रकारको साहित्य वा ग्रन्थको जन्म भएको थिएन ।
यजुर्वेद वेद हिन्दू धर्मको एक महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ तथा चार वेदहरुमध्ये एक हो । यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य तथा पद्य मन्त्र समावेश रहेको छ । यो हिन्दु धर्मको चार पवित्रतम प्रमुख ग्रन्थहरु मध्ये एक हो तथा अक्सर ऋग्वेद पछिको दोस्रो वेद मानिन्छ यजुर्वेद मुख्य रूपमा एक गद्यात्मक ग्रन्थ हो । यज्ञमा भनिने गद्यात्मक मन्त्रलाई‘’यजुस’’ भनिन्छ । यसमा जम्मा ४० अध्यायहरु रहेका छन् । यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधानहरु भएको हुनाले यसलाई कर्मकाण्ड प्रधान धार्मिक ग्रन्थ भनेर पनि बुझ्ने गरिन्छ ।
सामवेद वेद, गीत–सङ्गीत प्रधान हो।यसवेदलाई सङ्गीत शास्त्रको मूल मानिएको छ, प्राचीन समयमा पनि मानिसहरु सङ्गीतप्रति अभिरुचि राख्दथे । आकारको दृष्टिले यो सबैभन्दा सानो छ । यसको महत्व धेरै हुनुमा गीतामा कृष्णद्वारा ’वेदानां सामवेदोऽस्मि’ भन्नु पनि हो भनिन्छ । यो वेदमा सबै वेदहरूको साररूप छ र सबै वेदहरूका चुनिएका अंश यसमा सामेल गरिएको छ, यसमा मुख्य तीन शाखा र ७५ ऋचा छन् र सङ्गीत शास्त्रलाई प्रधान बनाइएको छ ।
अथर्ववेद वेदहरुमध्ये यो चौथो वेद हो । यसमा मन्त्र भाग, देवताहरूको स्तुतिका साथ जादू, चमत्कार, चिकित्सा, विज्ञान र दर्शनका मन्त्र छन् ।अथर्ववेद संहिताका बारेमा भनिएको छ, जुन राज्यमा अथर्ववेद जान्ने विद्वान् रहन्छन् त्यो राष्ट्र विना अवरोध निरन्तर उन्नति पथमा अगाडि बढिरहन्छ। जादूदेखि सम्बन्धित मन्त्र– तन्त्र, राक्षस, पिसाच, आदि भयानक शक्तिहरू अथर्ववेदका महत्वपूर्ण विषय छन् । यसमा भूत–प्रेत, जादू–टुना आदिका मन्त्र छन् ।
उपनिषदमा पनि हिन्दुहरुको मूल आध्यात्मिक बिचार समावेश भएको पाइन्छ । उपनिषद पनि श्रुतिमा आधारित रहेको ग्रन्थ हो, जसको इतिहास निकै पुरानो रहेको छ, यो इशापूर्व ५,००० देखि ४,००० सम्म भएको भनिन्छ । वेदको अन्त भागमा पनि आएको हुनाले यसलाई वेदान्त भनेर पनि मानिन्छ । यसमा मानव जिवनको रहस्यमय बिषयहरु समावेश भएको हुनाले उपनिषदलाई रहस्य विद्दा पनि भनिन्छ । प्राचिन समयमा ऋषिमुनीहरु वन–जङ्गल घुमी हिँड्दथे र कुनै निश्चित स्थानमा बसी आफ्ना शिष्यहरुलाई ज्ञानगुनका कुराहरु सुनाउँथे यसरी सुनाइएका कुराहरु समावेश गरी उपनिषद लेखिएको हो भनेर मानिन्छ ।
महाभारत संसारभरी छरिएर रहेका समस्त हिन्दुहरुको लागि महाभारत एक प्रमुख ग्रन्थ हो, यसमा मौलिक र नैतिक ज्ञानको अथाह भण्डार रहेको छ, जसलाई स्मृति वर्गको ग्रन्थ भनेर पनि बुझिन्छ । यो धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ पनि हो, जसलाई वेदहरुपछिको मुख्य ग्रन्थ भनिन्छ । विश्व जगतमा महाभारतलाई सबैभन्दा ठूलो मुल्यवान साहित्यिक कृतिको रुपमा पनि लिइन्छ । यो वैदिक परम्पराको महत्वपूर्ण सार हो । ऋषि वेद व्यासद्वारा व्यक्त वाणीलाई भगवान गणेशबाट लेखिएको हो भनिन्छ किनकी वेदव्यासबाट मात्रै लेखिदा यो उनको जीवनमा पनि सम्भव नहुने भएपछि भगवान गणेशलाई विन्ती गरी लेखाइएको हो भनिन्छ ।
पान्डव पक्ष र कौरव पक्षको बिचमा भएको धर्म युद्धलाई बिशेष महत्व दिएर लेखिएको यस ग्रन्थमा धर्मको मार्गमा हिँड्ने मानिसको जित जहिले पनि निश्चित हुन्छ भन्ने सन्देश दिइएको छ । यसमा चन्द्रवंशदेखि कुरुवंश सम्मको उत्पत्ति, पान्डुको राज्य अभिषेक, कर्णको जन्म, लाक्षाग्रह षड्यन्त्र तथा द्रौपदी स्वयंवर, इन्द्रप्रस्थको स्थापना, पान्डवहरुको वनवास, भगवान श्रीकृष्णको भूमिका तथा उपदेशहरु, भीष्म, द्रोण, कर्ण, शल्य, दुर्योधन महाभारत युद्धको समाप्ति तथा पान्डव हरुको स्वर्गागमान आदिको विषयमा निकै रोचक रुपमा व्याख्या गरिएको छ । मानिस जहिले पनि असल मार्गमा हिँड्नुपर्छ, कुमार्गमा हिड्नेहरुको नाश निश्चित छ र कार्य गर्दा फलको आशा नगरी निश्वार्थ भावले गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।
महाभारत युद्धमा अर्जुन युद्ध नलड्ने मनस्थितिमा पुग्न लागेको छनक पाएपछि अर्जुनलाई धर्म युद्धमा संलग्न गराउने सन्दर्भमा श्रीकृष्णले अर्जुनलाई युद्ध लड्ने निर्णयबाट पछि नहट्नको लागि दिइएको सारगर्भित र दुरदर्शी उपदेशलाई श्रीमद्भागवत गीता भनेर बुझिन्छ ।रामायण प्रसिद्ध ऋषि वाल्मिकीद्वारा त्रेतायुगमा संस्कृत भाषामा लेखिएको रामायण हिन्दु धर्मावलम्बीहरुको अर्को महत्वपूर्ण महाकाव्य हो, भगवान विष्णुको अवतार मानिने रामको गौरव गाथामा मुलतः आधारित भएर लेखिएको यस महाकाव्यमा विभिन्न अध्यायहरु समावेश भएको पाइन्छ। बालकाण्ड, अयोध्या काण्ड अरन्य काण्ड,किष्किन्धा काण्ड, सुन्दर काण्ड, युद्धकाण्ड उत्तर काण्डहरु रहेका छन् ।
रामायणको प्रमुख पात्रहरुमा रामको पिता दशरथ, सीताको पिता जनक, राम, सीता, लक्ष्मण, शत्रुधन, भरत, हनुमान, बाली, सुग्रिप, जटायु, आदि रहेका छन् । रामायण पनि संसारको एक विशाल एवं महान ग्रन्थ भनेर मानिन्छ । अनेकौ प्रकारका ज्ञानबद्र्धक र लोकप्रिय कथाहरुले भरिएको यस ग्रन्थमा सभ्य समाज निर्माण गर्ने दिशामा महत्वपूर्ण कृति पनि हो ।
पुराण शव्दको अर्थ पुरानो वा प्राचिन भन्ने हुन्छ । पुराण पनि हिन्दु घर्मावलम्बी हरुको महत्वपूर्ण ग्रन्थ हो तथापी अन्य धार्मिक ग्रन्थहरु जस्तो यसलाई प्रमाणिक ग्रन्थको रुपमा लिइँदैन। पुराणमा देवी–देवताहरु,ऋषिमूनि,राजा–महाराजा, नायक तथा ऋषिमूनिहरुको वर्णन भएको पाइन्छ । पुराणहरुमा धर्मशास्त्र, दर्शन, चिकित्सा, खगोलशास्त्र, खनिज विज्ञान, हाँस्य तथा प्रेम कथाहरु समेत समावेश भएको पाइन्छ ।
विभिन्न पुराणहरुमा वैदिक कालदेखि चलिआएको सृष्टिसम्बन्धी विचारलगायत काल्पनिक जस्तो लाग्ने अनेक प्रकारको कथाहरु समेत पाइन्छ । पुराणहरु जम्मा अठार वटा रहेका छन्, जो यसप्रकार रहेको छ ।ब्रम्हा पुराण, पद्य पुराण, विष्णु पुराण ,वायू पुराण, भागवत पुराणलाइ कतैकतै देवी भागवात पुराण पनि भनिन्छ यस्तै नारद पुराण,मार्कण्डेय पुराण,अग्नी पुराण, भविष्य पुराण, ब्रह्मवैतर्त पुराण, लिङ्ग पुराण, बराह पुराण, स्कन्द पुराण, वामन पुराण, कूर्म पुराण, मत्स्य पुराण, गरुड पुराण र ब्रह्मान्ड पुराण हुन ।
हिन्दु धर्म देवी–देवताहरुमा अगाध श्रद्धा र भक्ति भाव दर्शाउने धर्म हो, यस धर्ममा तेत्तीस कोटी अर्थात् तेत्तीस करोड देवी–देवताहरु रहेको भनिन्छ । यस धर्मशास्त्र को बिभिन्न ग्रन्थहरुमा जो जसले देवी–देवताहरुप्रति भक्ति, पुजा अर्चना गर्दछन्, उनीहरुले आशिर्वाद प्राप्त गरी मोक्ष प्राप्त गरदछन् र मनले चिताएको कुरा पुरा हुन्छ भनिएको छ । यो धर्मको विशेषता के हो भने भिन्न–भिन्न देवीदेवताहरु भिन्न– भिन्न नाममा भिन्न भिन्न प्रयोजनको लागि पृथ्वीलोकमा प्रकट हुन्छन् अनि सदाचार, नैतिकता र मानवता कायम राख्ने कार्यसम्पन्न भएपछि पुनः अन्तध्र्यान हुन्छन् । मानिसहरु आ–आफ्नो मनोकामना पुरा गर्न पुजा, ध्यान, ब्रत उपवास बस्ने गर्दछन् ।
हिन्दु धर्म मानव सभ्यताको विभिन्न काल खण्ड हुँदै आएको र यो मूल रुपमा श्रृति र स्मृतिमा आधारित रहेको हुनाले सभ्यताको कुनै कालखण्डमा कहीँकतै जातीय र वंशका कुराहरु समावेश भएता पनि यसले जात, वंश वा लिङ्गको आधारमा कोही कसैउपर भेदभाव गर्दैन, हिन्दु धर्मको सार भनेको मानवीय धर्म र कर्तव्य नै हो । यो धर्म सदैव शान्तिको पक्षमा रहन्छ । यो धर्मले कर्ममा जोड दिन्छ, कर्म भनेको मानवीय कर्तव्य हो ।
मानवीय कर्तव्य विपरीत हिँड्नेहरुको पतन अवश्यम्भावी हुन्छ भन्ने मान्यता यो धर्मले राख्दछ । मानिसको कर्तव्य परिणाममा देखिनुपर्दछ, खोक्रो आडम्बरमा गरिने कार्य मानवीय धर्म होइन भन्ने मान्यता समेत यो धर्मले लिएको पाइन्छ हिन्दु धर्म एक जीवन पद्धति पनि हो, यो अगाध विश्वास हो तर अन्धविश्वास होइन ।संसारमा कालान्तरमा जन्मेका अन्य धर्म निश्चित वादमा अडेका छन्। त्यसो त सनातन हिन्दु धर्म तथा ॐकार परिवारभित्रकै सम्प्रदाय पनि विभिन्नखालका वादमा केन्द्रित छन्।
तथापि समग्र हिन्दु धर्मले सनातन धर्मको प्रतिनिधित्व गर्ने भएकाले यसभित्रका सम्प्रदाय मतलाई स्वतन्त्र रहन दिएर आफूले सनातनधार नछाडेको हुनाले नै हिन्दु धर्मलाई सनातन धर्मको पर्याय मानिन्छ। सनातन धर्म सागर हो जहाँ नभेटिने केही हुँदैन तर सनातन धर्मलाई आफूमा मात्रै सीमित गर्न कुनै पनि धर्म–सम्प्रदाय तथा पन्थले सक्तैन। पूर्ण मानव धर्मको तत्वलाई सम्बोधन गरेको अर्थात मार्गदर्शन गरेको सनातन धर्म र निश्चित पक्षलाई मात्रै सम्बोधन गरेको अन्य कुनै धर्म सम्प्रदायको तुलना हुन सक्तैन।
संसारमा दुई प्रकारका धर्म छन्। पहिलो, शाश्वत मानव धर्म र दोस्रोमा निश्चित क्षेत्र, परिस्थिति र वाद सम्बोधित धर्म। वर्तमानमा धर्मको नाममा जे जति द्वन्द्व तथा बहस छ यिनै दुई प्रकारका धर्मको विशेषतामा केन्द्रित छन्। पहिलो धर्म अर्थात शाश्वत सनातन धर्म हो। यो सृष्टिसँगै सुसंस्कारित–परिस्कारित र संस्थापित हुँदै आएको वेद–वेदान्तीय धर्म हो। भलै यसमा आजको समयमा केही कर्मकाण्डीय स्वार्थमा विकृति तथा दुरूपयोग भएको देखिएको होला।
सनातन धर्मलाई आत्मसात गर्ने धर्महरूमा ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत, प्रकृतिपूजक आदि) पर्छन्। यी धर्मभित्र पनि दाइको भूमिकामा छ हिन्दु धर्म। त्यसैले नै हिन्दु धर्मलाई सनातन धर्मको पर्यायका रूपमा लिने गरिन्छ।
ॐकार परिवारभित्रका अन्य धर्म सनातन धर्मकै पेरिफेरिमा रहेर सामान्य केही आफ्नै सिद्धान्तमा दृढ छन् र सनातन धर्म दर्शनअनुसार दशौं अवतारका रूपमा बुद्ध अवतारको मार्गोपदेशबाट बौद्ध धर्म, जैन महामुनिहरूको मार्गोपदेशबाट जैन धर्म, गुरुनानकको मार्गोपदेशबाट शिख धर्म,किराँतेश्वर भगवान शिवका अनुयायी हरूको किराँत धर्म जसका महागुरुका रूपमा फाल्गुनन्दलाई लिइन्छ, छन्।दोस्रो धर्मको रूपमा दुई हजार वर्षअघि पश्चिमी मुलुकमा जन्मेको इशाई धर्म र तेह्र सय वर्ष पहिला अरबी मुलुकमा जन्मेको इश्लाम धर्मलगायत पर्छन्।
एउटा ध्रुवसत्य के हो भने मानव–मानवबीचमा धर्मका नाममा जति द्वन्द्व र बहस भए पनि अन्ततोगत्वा मानवले मानव धर्म याने सनातन धर्मको विकल्प भेट्ने छैन। यही कुरालाई पश्चिमाहरूले आत्मसात गरिसकेका छन्।
महर्षि वैदिक फाउन्डेसन, स्कोनलगायतका अध्यात्म ज्ञानविज्ञानका अभियान हरूले पश्चिममा राम्रो प्रभाव जमाउनु, सनातन धर्मका विभिन्न गुरुहरूको प्रभुत्व पश्चिममा बढ्दै जानुले यसलाई छर्लङ्ग्याउँछ। संसारका सबै धर्म एकमार्गी छन् तर हिन्दू धर्म त्यस्तो धर्म हो जसले सत्यसम्म, आफूसम्म, मोक्षसम्म वा ईश्वरसम्म पुग्नका लागि अनेकौँ मार्गहरू निर्माण गरेको छ ।
उसले राजमार्ग बाहेक पनि अनेकौँ शाखा मार्गहरू बनाएको छ जसबाट मानिस सत्य र जीवनसम्म पुग्नसक्छ। व्यक्तिले आफ्नो सुविधा र रोजाइअनुसार आफूलाई जुन मार्ग सहज लाग्छ त्यही मार्ग चयन गर्न सक्छ । उदाहरणका रूपमा हेर्ने हो भने हिन्दू धर्मग्रन्थमा ध्यानका लगभग ४ सय ५० भन्दा बढी ध्यानविधि बताइएको छ ।
भक्ति मार्ग, ज्ञान मार्ग, सांख्य मार्ग, योग मार्ग, मूर्तिपूजाको मार्ग, एकेश्वरवादी मार्ग, सर्वेश्वरवादी मार्ग, देव-देवीवादी मार्ग, निराकारको प्रार्थना गर्ने मार्ग, ध्यान मार्ग आदि सयौँ प्रकारका आध्यात्मि मार्गका अतिरिक्त यसले तन्त्र, कोल, आयुर्वेद, ज्योतिष एवं नास्तिकताको मार्ग पनि छ है भनेर बताएको छ । हिन्दू धर्मको अचम्मलाग्दो खुबी के हो भने यसले नास्तिकतालाई समेत अध्यात्मका मार्गमा प्रथम सिँढी मानेको छ ।
यद्यपि हिन्दू धर्मले उक्त सबै मार्गमध्ये गीतामा बताइएको मार्गलाई नै प्राथमिकता दिन्छ । गीताको मार्ग नै वेदको मार्ग हो ।धर्ममा केही त्यस्ता कुरा हुन्छन् जसलाई हेरेर वा जानेर हामी भन्न सक्छौँ कि यो धर्म होर।यसका लागि केही नियम बनाइ न्छन् वा यस्ता कार्य सुरु गरिन्छन् जसको माध्यमबाट मानिस धर्ममा जोडिन सकोस् । यसका लागि ऋषिमुनिहरूले मानिसहरूलाई प्रायश्चित्त गर्न, दीक्षा दिन, १६ संस्कार, प्रार्थनालय बनाउनुपर्ने बताए ।
यसैगरी परिक्रमा गर्न, नसिलाइएका सेता वस्त्र लगाएर सन्ध्यावन्दन गर्न, सन्ध्यावन्दनको समय निश्चित गर्न, मानिसहरूलाई सन्ध्याका लागि बोलाउन घन्ट, शंख आदि संकेत बजाउन, प्रार्थनाभन्दा पहिले शौच शुद्धि गर्न, जप गर्न, माला गन्न, व्रतोपवास गर्न, तीर्थ जान, दानपुण्य गर्न, पाठ गर्न, सेवा गर्न, धर्म प्रचार गर्न आदि सयौँ कर्म छन् जसलाई अन्य धर्मले समेत अनुसरण गरेका छन् । अझ आश्चर्यलाग्दो कुरा के छ भने उक्त सबै कार्यलाई हिन्दू धर्मले चार आश्रम व्यवस्थाभित्र समेटेको छ ।
हिन्दु धर्मको मूल रूप सनातन धर्म वा वैदिक धर्म हो । वैदिक कालमा भारतवर्षको धर्म सनातन भनी उल्लेख गरिएको पाइन्छ । सनातनको अर्थ हुन्छ शाश्वत वा सधैं कायम हुने । जसको न आदि छ, न अन्त त्यसलाई सनातन भनिन्छ ।हिन्दु धर्म कति वर्षअघिदेखि प्रचलित थियो भन्ने प्रश्न गर्नु नै बेकार हो किनकि सभ्यताको शुरूवातदेखि नै यो अभ्यासमा थियो । सिन्धु सभ्यतामा हिन्दु धर्मका धेरै चिह्न भेटिन्थे । अज्ञात मातृदेवीका मूर्तिहरू, शिव पशुपति जस्ता देवताका मुद्राहरू, लिंग, पीपलपूजा लगायतका कुरा त्यतिखेर हुने गर्थे ।
प्राचीनकालमा भारतीय सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय विद्यमान थिए । तर मान्यता चाहिँ के थियो भने यी सबै एउटै सत्यका व्याख्या हुन् । प्राचीनतम ग्रन्थ वेददेखि लिएर रामायण र महाभारतजस्ता लोकप्रिय धर्मग्रन्थमा समेत यही कुरा बताइएको छ ।सनातन धर्मका ग्रन्थहरू देववाणी संस्कृतमा रचिएका हुन् ।
संस्कृतको ह्रास भएसँगै सनातन धर्ममा आक्रमण हुँदै गयो तर अहिले आएर यो धर्म झन् बलियो हुँदै गइरहेको छ ।हिन्दु धर्ममा कुनै एक सिद्धान्तको निरंकुशता छैन । धर्मभन्दा पनि महत्वपूर्ण त जीवन जिउने मार्ग हो यो । हिन्दुहरूको कुनै केन्द्रीय सत्ता वा धर्मगुरु छैन जसको आदेश मान्नैपरोस् । यहाँ त अनेकौं मत र सम्प्रदाय छन् र सबैलाई उत्तिकै श्रद्धा गरिन्छ ।