काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि आज प्रस्थान गरेका छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन गएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ सदस्य रहेका छन्। भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र सरकारका उच्चपदस्थ कर्मचारीहरू सामेल छन् ।
चीन भ्रमणका क्रममा चीन र रुसका राष्ट्रपतिसहित विभिन्न ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता हुने जनाइएको छ। प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने SCO प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तयारी छ। यो उनको प्रधानमन्त्री भएपछिको दोस्रो चीन भ्रमण हो ।

