चितवन, मंसिर २० : भरतपुर महानगरपालिकामा चार वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार १५ हजार नयाँ थपिएर अहिले खानेपानी प्रयोग गर्ने ३५ हजार घरधुरी पुगेका हुन् ।
अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एवम् मर्मत् सम्भार भएका छन् । यो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा बिनियोजन भएको छ ।
महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको दाबी गर्दे आएको छ । भरतपुर महानगरपालिकाले सात हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरे पनि कार्यान्वयनमा आएको छैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गरेका थिए ।
नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीव्ररुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेको उनको भनाइ छ । भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डीपीआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।
कहाँ कुन आयोजना कति लगानीमा बन्दै छन् ?
भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं.९, ११ र १२ सेवा क्षेत्र रहने गरी २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी तीन करोड रुपैयाँको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
यस्तै प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी चार करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा दुई वटा ओभरहेड टंकी र दुई वटा डिप बोरिङसहित पाइपलाइन बिस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।
यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी तीन करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड ट्याङ्की र डिप बोरिङसहित पाइपलाइन बिस्तार भई आयोजना सञ्चालनमा आएको छ ।
यस्तै नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुई वटा ओभरहेड ट्याङ्की र दुई वटा डिप बोरिङसहित करिब ७२ किमी पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी २८ करोडको जखडीमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना दुई करोडको सर्वेक्षण सम्पन्न भई डीपीआर तयारी भई प्रक्रिया अगाडि बढेकोे छ ।
यस्तै भरतपुर महानगरपालिका वडा न. १५ को फूलबारी खानेपानी आयोजना दुई करोड ६९ लाखको हस्तान्तरण लिई १० किमी पाइपलाइन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।
नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत् एडीबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डीपीआर तयार हुने सम्झौता भएको छ ।
यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिकरुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाइपलाइन विस्तार गरी सेवा वृद्धि गरिएको छ ।
प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर दुई करोड ७१ लाखको आनन्दपुर दुई करोड ४९ लाख रुपैयाँको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचारु भएर सञ्चालनमा आएको छ ।
विपन्न वर्गलाई धारा जोड्न सकस
भरतपुर महानगरपालिकाले खानेपानीको पहुँच बिस्तार गरेको दाबी गरिरहँदा गरिब र बिपन्न वर्गलाई भने धारा जोड्न नै सकस हुने गरेको छ । भरतपुरमा वडाको सिफारिस लिएर खानेपानी बोर्डमा शुल्क बुझाएर धारा जोड्ने प्रक्रिया रहेको छ । राजस्व, सामान र जडान खर्च जोड्दा एउटा धारा जोड्दा १२ देखि १५ हजार रुपैयाँसम्म खर्च लाग्छ । जुन सामान्य नागरिकको लागि निकै ठूलो रकम हो । मासिक शुल्क लिने भएपछि निःशुल्क धारा जोड्ने व्यवस्था हुनुपर्ने नागरिककको माग छ ।
भरतपुर महानगरपालिका–११ मृगकुञ्ज टोलका राम विश्वकर्माले धेरै पैसा लाग्ने भएकोले खानेपानीको धारा जोड्न नसकेको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । उनले भने, ‘ नयाँ धरा जोड्दा झण्डै १५ हजार जति खर्च हुने रहेछ । फेरि महिनै पिच्छे शुल्क पनि तिर्नुपर्छ । यो रकम हामीजस्तो गरिबको लागि महंगो पर्छ ।’ उनले मासिक शुल्क लिएपछि निःशुल्क धारा जडान गर्ने व्यवस्था हुनुपर्ने माग राखे । उनले भने, ‘सरकारले नागरिकबाट कर लिएको छ । तर, जलस्रोतको धनी देशमा पानीकोसमेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । यसलाई हटाउनुपर्छ ।’ महानगरले सात हजार लिटरसम्म खानेपानीमा छुट दिने भने पनि कार्यान्वयनमा आएको छैन । खानेपानी बोर्डमा नागरिकले प्रश्न गर्दा आफूहरुलाई थाहा नभएको कर्मचारीहरुले बताउँदै आएका छन् ।