नविन तिमल्सिना, शिलापत्र : ४ मंसिरमा भएको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलहरूले बागमती प्रदेशसभाका लागि सदस्यहरूको नाम निर्वाचन आयोग पठाएका छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टीले समानुपातिकतर्फ सदस्यहरूको नाम निर्वाचन आयोगमा पठाएको हो । १ सय १० सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ सांसद निर्वाचित हुन्छन् ।
दलहरूले ४४ जनाको नाम आयोगका पठाइसकेका छन् । प्रत्यक्ष र समानुतिकतर्फको मतगणना सकिएर सांसदहरूको टुंगो लागेपछि प्रदेशसभामा प्रक्रिया पुर्याएर प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नेछन् । प्रदेश प्रमुखले सरकार गठनका लागि बहुमत पुर्याएर आउन आह्वान गरेपछि सरकार निर्माणको प्रक्रिया अगाडि बढ्छ । संविधानतः निर्वाचन आयोगले अन्तिम मतपरिणाम जारी गरेको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको प्रदेशसभा सचिवालय बागमतीका सचिव कृष्णहरि खड्काले बताए ।
जस अगाडि समानुपातिकबाट सिट प्राप्त गरेका दलहरूले बन्दसूचीअनुसार सदस्यहरूको नाम पठाएको हुन् । समानुपातिकमा एमालेले १४, कांग्रेसले १२, माओवादी केन्द्रको ७, राप्रपाले ६, एकीकृत समाजवादीले २, नेमकिपाले २ र हाम्रो नेपाली पार्टीले १ सिट ल्याएको थियो । प्रत्यक्षमा कांग्रेसले २५, एमालेले १३, माओवादी केन्द्रले १४, अघिल्लो कार्यकालमा समानुपातिकबाट २ सिट मात्रै पाएको राप्रपाले यस निर्वाचनबाट प्रत्यक्षमा ७, एकीकृत समाजवादीले ५, नेमकिपाले १ र हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ सिट ल्याएको थियो ।
बागमती प्रदेशसभा सदस्यका लागि कांग्रेसले समानुपातिकमा काठमाडौंकी समिता खड्गी श्रेष्ठ, मकवानपुरकी लक्ष्मीदेवी श्रेष्ठ, चितवनकी गीता गुरुङ, काठमाडौंकी यमुनादेवी श्रेष्ठ, काठमाडौंबाटै याङकिला शेर्पा रुइत, चितवनबाट माया श्रेष्ठ, धादिङका शिवराज अधिकारी, तेह्रथुमकी उर्मिला नेपाल, झापाकी मिना पोखरेल, काठमाडौंकी शान्ता ढकाल, चितवनबाटै बिनु रायमाझी पौडेल र काभ्रेकी सुना परियार नाम आयोगमा सिफारिस गरेको हो ।
प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा एमालेले गोरखाका दिनेशचन्द्र देवकोटा, चिवतनका हरिप्रसाद सापकोटा, मकवानपुरकी भारती कुमारी पाठक, काभ्रेकी अप्सरा चौलागाईं, रामेछापकी मायाकुमारी कार्की, काठमाडौंकी बिन्दु श्रेष्ठ, सिन्धुपाल्चोककी माइली तामाङ, सिन्धुलीकी सुकुमाया तामाङ, भक्तपुरकी सकुन्तला श्रेष्ठ राजभण्डारी, दोलखाकी उर्मिला सुनुवार, रामेछापका आनन्दकुमार श्रेष्ठ, काभ्रेका ज्ञानबहादुर तामाङ, दोलखाका ठूला थामी, चितवनकी बालकुमारी विश्वकर्माको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले भक्तपुरका देवेन्द्र श्रेष्ठ, महोत्तरीकी उर्मिलाकुमारी लामा, सिन्धुलीकी सुष्पा भुजेल, दोलखाकी डोल्मा थामी, चितवनकी ईश्वर सापकोटा, सिन्धुपाल्चोकी अमृता नेपाल, काभ्रेकी रुकु चौलागाइको नाम पठाएको छ । निर्वाचन आयोगमा राप्रपाबाट सिन्धुपाल्चोकी कुमारी तामाङ, काठमाडौंकी आशा लामा, भक्तपुरकी धनेश्वरी प्रजापति, दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका भुवनकुमार पाठक, र रामेछापकी लक्ष्मी घिमिरेको नाम पठाएको हो ।
हाम्रो नेपाली पार्टीबाट काठमाडौंकी सरिता खड्गी, एकीकृत समाजवादीबाट ओमकुमारी श्रेष्ठ र मायादेवी शर्माको नाम सफारिस भएको हो । नेमकिपाबाट भक्तपुरकी सृजना सायजु र भक्तपुरकै गीता काफ्लेलाई प्रदेशसभा सदस्यका लागि नाम सिफारिस गरिएको हो । यो समाचार शिलापत्रका लागि नविन तिमल्सिनाले लेखेका हुन्।