काठमाडौँ क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौँको मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताएकी छन्।
काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौँ महानगरले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताइन्।
उनले महानगरले गुमाएको मौलिकतालाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिइन्। यसको निम्ति आफूले सकेको भूमिका निभाउने उनको भनाइ छ।
उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले कति कुरा कमाएको छ। कति कुरा गुमाएको छ। कति मौलिकता गुमाएको छ। तर, ती मौलिकतालाई अब पुनर्जीवित गर्नको निम्ति काठमाडौँ महानगरपालिकाले हामीले देखिरहेका छौँ। विभिन्न प्रयास गरिरहेको छ। ती पुनर्जीवित गर्ने प्रयासमा तपाईं–हामी सबै जनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ। आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुरामा महानगरपालिकालगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुनर्जीवित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे–जति भूमिका हुन सक्छ, मेरो जे–जति भूमिका हुन सक्छ। त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु।’
उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनर्जीवित गर्नुपर्ने बताइन्।