नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना गर्न नसकिने बताएका छन्।
उनले पार्टी पदाधिकारी बैठकका क्रममा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको उल्लेख गरे । ‘राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्छ, दलकै व्यक्ति हुनुपर्छ।’
त्यस्तै उनले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। ‘सबैलाई एक भएर लैजान मैले प्रधानमन्त्री पदमा दाबी गरेको हुँ,’ उनले भने।
त्यस्तै, उनले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्।
पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।
निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिरजस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे।
उनले भने, ‘सांसदहरुको शपथग्रहण नहुँदै सरकार गठन गर्ने नजिरजस्तो बन्न गएको छ। यो सही होइन। सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ। उचित हुन्छ। र विगतको परम्परा पनि त्यही हो भन्नेमा हाम्रो निस्कर्ष छ। म सम्बन्धित सबैको ध्यान यो विषयमा आकर्षित होस् र सबैभन्दा पहिलो शपथग्रहणको कार्यक्रम अगाडि बढाउने र शपथग्रहणपछि सरकार गठन र अन्य कामहरु अगाडि बढाउनु उचित हुन्छ भनेर म जानकारी गराउन चाहन्छु।’
राष्ट्रपति कार्यालयले भने आइतबार एक साताको समय दिएर सरकार गठन गर्न दलहरुलाई आह्वन गरेको छ।

