राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि बहुमत पुर्याएर आउन आह्वान गरेको सोमबार २४ घण्टा बिते पछि सरकार बनाउने सबैभन्दा धेरै सम्भावना रहेको वर्तमान सत्ता गठबन्धनको बैठक बसेको छैन ।
सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको चुनावमै रुमलिएको छ । माओवादी केन्द्रले भने आइतबार मात्र पदाधिकारी बैठक गरेको छ । तर, सरकार गठनकै लागि भनेर गठबन्धनको बैठक बसेको छैन । त्यसैले आगामी सरकार गठनको प्रक्रिया कसरी सुरु हुन्छ त्यो हेर्न बाँकी छ ।
सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नेतृत्वमा दाबी गरिरहेका छन् । यसरी सरकार गठनको स्पष्ट तस्वीर नआइरहेका बेला माओवादीकै चुनाव चिह्न लिएर चुनावमा गएको नेपाल समाजवादी पार्टी भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने कसरतमा छ ।
सो पार्टीका अध्यक्ष बाबुराम भट्टराई वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउन कसरत छन् । उनले त्यसका लागि पहल पनि गरिरहेका छन् । सो पार्टीका केन्द्रीय सदस्य विश्वद्विप पाण्डे भन्छन्, ‘हाम्रो अध्यक्ष (बाबुराम) को लाइन यो गठबन्धनलाई निरन्तरता दिनेमै छ । यही गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने स्पष्ट नीति छ । सोही अनुसार उहाँ (बाबुराम) सक्रिय बन्नु भएको छ ।’
माओवादी चुनाव चिह्नबाट सो पार्टीका महिन्द्र राय यादव सर्लाहीबाट प्रत्यक्ष निर्वाचित भएका थिए भने समानुपातिकबाट उमरावदेवि यादव निर्वाचित भएकी छन् । प्रचण्ड र बाबुराम सशस्त्र द्वन्द्वदेखि संविधान जारी हुँदासम्मका सहयात्री हुन् । संविधान जारीपछि बाबुराम माओवादी त्यागेर हिँडेका थिए । २०७२ मा प्रचण्डसँग सम्बन्ध तोडेका बाबुराम सात वर्षपछि यो चुनावबाट नजिकिएका छन् ।