काठमाडौं,पुस ५: अर्जेटिनी फुटबल टीमको फ्यान पेजले आफ्नो आधिकारिक ट्वीटर पेजबाट एउटा भिडिओ रिट्वीट गर्यो । बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडिओमा कैद थियो । उक्त पेजले भिडिओ सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ । उक्त ट्वीटरमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्बोधन गरिएको छ ।
‘धन्यवाद बङ्गलादेश । धन्यवाद केरला, भारत, पाकिस्तान । तपाईँहरूको समर्थन गज्जबको थियो ।’ टिमले भनेको छ ।
तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन । जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो । विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए ।
तर, आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान अहिले रुष्ट बनेका छन् ।
केरला भारतकै राज्य हो । टिमको ट्विटमा भारत उल्लेख भइसकेपछि केरलालाई किन छुट्टै धन्यवाद दिइयो भन्ने पनि कौतुहल छ ।
भारतमा फुटबल पहिलो प्राथमिकताको खेल होइन । भारतका अधिकांश स्थानहरूमा क्रिकेट सर्वाधिक लोकप्रिय छ । फुटबललाई भारत सरकारले पनि उति प्राथमिकता दिँदैन । तर, केरला भने फुटबल प्रेमीहरूको राज्य हो ।