काठमाडौँ, पुस २८ः अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन भएपछि १० हजार नेपालीले रोजगारी पाउने बताएका छन् । एमसिसी परियोजना कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने उनको दाबी छ ।
नेपाली पत्रकारसँग बुधबार कुराकानी गर्दै उनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाले सधैं काम गरिरहेको बताए । ‘नेपालकै चाहनाअनुसार यहाँ एमसीसी परियोजना आएको हो, यसले नेपालको पूर्वाधार निर्माण गर्नुका साथै कम्तीमा १० हजार जनालाई रोजगारी दिन्छ,’ उनले भने, ‘अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडीमार्फत पनि नेपाललाई ५ वर्षका लागि ६५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । अन्य सहकार्यका कार्यक्रम पनि छन् ।’
उनले यी सम्पूर्ण कार्यक्रमले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षालगायत जनजीवनलाई उकास्ने बताए । उनले एमसीसीअन्तर्गतको सबस्टेसन निर्माणका लागि नुवाकोटको रातमाटेमा र सडक निर्माणका क्रममा दाङमा भइरहेका केही समस्याप्रति आफू अवगत रहेको सुनाए ।

