उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एकैपटक दुई देशको नागरिकता कायम हुने दाबी गरेका छन् । नागरिकता सम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय अभ्यासले कुनै पनि व्यक्ति एकैपटक एकभन्दा बढी देशको नागरिक हुन नसक्ने व्यवस्था गरे पनि गृहमन्त्री लामिछानेले भने आफू एकै समय नेपाल र अमेरिकको नागरिक भएकाे तथा उक्त कुरा वैधानिक भएको जिकिर गरेका हुन्।
निष्क्रिय अवस्थामा रहेको नागरिकताका आधारमा लामिछानेले चितवन २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनु अवैध रहेको दाबी गर्दै परेको रिट निवेदनको जवाफमा उनले एकैपटक दुई देशको नागरिकता कायम हुनु वैधानिक भएको दाबी गरेका हुन्।
२०५० साल फागुन १० गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता अमेरिकी नागरिकता त्यागेपछि सक्रिय बनाउन पूूरा गर्नुपर्ने कार्यविधि पूरा नगरेकाले उनीसँग वैधानिक नागरिकताको प्रमाणपत्र नरहेको दाबी गर्दै अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए।
निवेदनमा गृहमन्त्री लामिछानेसँग वैध नागरिकता नभएकाले उम्मेदवार हुन आवश्यक न्यूनतम योग्यता नै नपुगेको निवेदकको दाबी छ। त्यस्तो निष्क्रिय नागरिकताका आधारमा दिएको उम्मेदवारी नै खारेज भई चितवन २ मा पुन मतदात हुुनुपर्ने माग निवेदकले गरेका छन्।
उक्त रिटमाथि संवैधानिक इजलासले जारी गरेको कारण देखाऊ आदेशमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफूले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता नत्यागेको हुँदा अमेरिकाको नागरिकता छाडेपछि नेपालको नागरिकता कायम गर्न कुनै पनि कानुनी प्रक्रिया पूरा गर्नुनपर्ने दाबी गरेका हुन्।
नागरिकता ऐन २०६३ को दफा १० (१) ले विदेशी नागरिकता लिएपछि नेपालीको नागरिकता कायम नरहने व्यवस्था गरेको छ। उक्त दफामा भनिएको छ, ‘नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।’
दफा १० (२) ले नेपाली नागरिकता त्याग्न आधिकारिक निकायमा सूचना दिनुपर्ने व्यवस्था गरेको छ। लामिछानेले लिखित जवाफमा आफूले त्यसअनुसारको सूचना दिएर नेपाली नागरिकता नत्यागेकाले अमेरिकको नागरिकता लिँदा पनि आफू नेपाली नागरिक भइरहेको तर्क गरेका छन् जुन नागरिकता ऐन को दफा १० (१) विपरीत हो। किनकि अमेरिकाको नागरिकता पाइसकेपछि नेपालको नागरिकताको वैधता सकिन्छ, अर्थात् एकैपटक कुनै मानिस दुई देशको नागरिक हुन सक्दैन। लामिछानेले संवैधानिक इजलासमा आफू नेपालको नागरिक भइहरँदा अमेरिकाको समेत नागरिक भएको स्वीकार गरेका छन्।
उनले दफा १० (२) अनुसार नेपालको नागरिकता नत्यागेकाले दफा ११ बमोजिम पुनः नेपाली नागरिकता कायम गरिरहनु नपर्ने बताएका छन्।
लिखित जवाफमा आफूले २०७० साल फागुन ९ गते अमेरिकाको नागरिकता पाएको तथ्य उल्लेख गरेका छन्। उनले लिखित जवाफमा भनेका छन्, ‘मैले अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता ऐनको दफा १० को उपदफा (१) अनुसार कायम नरहने अवस्थासम्म हो। अर्थात मैले दफा १० को उपदफा (२) अनुसार नेपाली नागरिकता नत्यागेको हुँदा नियम ९ को कार्यविधि समेत मेरो हकमा यहाँ प्रासंगिक छैन। त्यसै गरी यहाँ नागरिकता रद्द भएको वा नागरिकबाट हटाएको अवस्था समेत नरहेको हुँदा तत्सम्बन्धी कार्यविधिको समेत थप विवेचना गरी रहनु परेन।’
नागरिकता सम्बन्धी ऐनकै दफा १३ ले कुनै व्यक्तिले एकभन्दा बढी नागरिकता लिन नहुने व्यवस्था गरेको छ। उक्त दफामा भनिएको छ, ‘कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन।’
त्यस्तै लामिछानेले अमेरिकाको पासपोर्ट हुँदा हुँदै निष्क्रिय नागरिकताको आधारमा नेपालको पासपोर्ट लिएको विषयमा समेत अदालतमा प्रश्न उठेको छ।
निष्क्रिय नागरिकताको आधारमा दिएको उम्मेदवारी र दोहोरो पासपोर्टको विषयमा संवैधानिक इजलासमा माघ ११ गतेदेखि सुनुवाइ हुँदै छ। पुस २२ गते संवैधानिक इजलासले लामिछाने विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै माघ ११ गतेदेखि अन्तिम सुनुवाइ गर्न पेशी तोकिदिएको छ।
तीन वर्षसम्म कैद सजाय हुने पासपोर्टसम्मको विषयमा गृहमन्त्रीले आफूले दोहोरो पासपार्ट लिए पनि प्रयोग नै नगरेको उल्लेख गरेका छन्। उनले दोहोरो पासपोर्ट लिएकाेमा कारबाही हुनुपर्ने माग गर्दै युवराज सफल पौडेलले सर्वोच्चमा छुट्टै रिट दायर गरेका छन्। यो समाचार देश्संचार अनलाइन खबर पत्रिकाले प्रकाशित गरेको छ।

