नेपाल चिकित्सक संघले मेडिकल काउन्सिलमा दर्ता नभएका डाक्टरको बिगबिगी बढेकाले छानविनका लागि ध्यानाकर्षण गरेको छ।
संघका महासचिव डा. बद्रि रिजालका अनुसार पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा विभिन्न विकृति फैलिएकाले कानुनी रूपमा दर्ता नभएका चिकित्सक हुँ भन्दै भ्रामक प्रचारप्रसार गरी उपचार प्रक्रियामा समावेश भएका व्यक्तिमाथि छानबिन प्रक्रिया अगाडी बढाएर पूर्ण रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानकर्षण गराएको जानकारी विज्ञप्ति मार्फत जनाएको छ।
त्यसैगरी, एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरूको बढ्दो मात्रामा दुरूपयोग भएको जनाएको छ।
दर्ता भएका चिकित्सकको सिफारिस बिना नै स्वास्थ्यलाई असर पर्ने गम्भीर खालका एलोपेथिक औषधिको प्रयोग भइरहेको र त्यसलाई पूर्ण रूपमा निषेध गर्न मन्त्रालयलाई अनुरोध गरेको छ।
संघले यस्ता विषयको उचित तवरले समधान नहुने भने मानिसको स्वास्थ्यमा विकराल रूप लिँदै जाने र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्न जाने र बेलैमा सचेत हुन पनि सम्बन्धित सरोकारवालालाई आह्वान गरेको छ।