चितवन ३० असार । पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धि गराएको भन्दै चितवनका पाँच विद्यार्थी संगठनले बुधबार विरोध जनाएका छन्।
नेपाल विद्यार्थी संघ चितवन, समाजवादी विद्यार्थी युनियन चितवन, अखिल क्रान्तिकारी चितवन, अनेरास्ववियू चितवन र अखिल छैठौँले संयुक्तरुपमा आन्दोलन गरेका हुन्। नारायणगढको पुलचोकस्थित कैलाश पेट्रोल पम्पबाट सुरु गरेको विरोध र्याली भरतपुरको साझा पेट्रोल पम्पमा आएर सकिएको थियो।
केपी ओली नेतृत्वको सरकारले नेपाल आयल निगमलाई घाटा छ भन्ने बहानामा महिनैपिच्छे मूल्य वृद्धि गरेर जनताको ढाड सेकिने काम गरेकोले त्यसको विरुद्धमा विद्यार्थी संगठनहरूले संयुक्तरुपमा विरोध कार्यक्रम आयोजना गरिएको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले जानकारी दिए। ‘आयल निगमलाई घाटा छ भन्दैमा उसको घाटा जनताले पूर्ति गराइदिनुपर्ने ?’ उनले भने, ‘नेपाली जनतालाई महिनामै दुईपटकसम्म गरेको मूल्यवृद्धि स्वीकार्य छैन। त्यसैले हामी आन्दोलनमा छौँ।’
समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले केपी ओली नेतृत्वको सरकारले प्रतिगमनकारी काम गरेको आरोप लगाए। महिनैपिच्छे पेट्रानेलियम पदार्थको मूल्य वृद्धि गरेर जनतामाथि लूट आतंक मच्चाएको उनले बताए। ‘आयल निगमलाई घाटा छ भन्ने अनि कर्मचारीलाई बोनस बाँड्ने ?’ उनले प्रश्न गरे, ‘ओली सरकारको यस्तो प्रतिगमनकारी कार्य कुनै पनि हालतमा सहन सकिन्न। त्यसैले हामी आन्दोलनमा छौँ।’
केन्द्रीय समितिको निर्देशनअनुसार जिल्लाका पाँच विद्यार्थी संगठनले करिब एक महिनायता संयुक्तरुपमा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। बुधबारको कार्यक्रम पछिल्लो कार्यतालिकाअनुसार पाँचौँ कार्यक्रम भएको अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनाश रम्तेलले जानकारी दिए । मंगलबारदेखि सरकार फेरिए पनि जनतालाई असहज हुने काम गरेमा जुनसुकै सरकारको पनि विरोध गर्दै जाने उनले बताए।
स्रोत : Echitwanpost.com