नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्की दिएर असुरक्षित बनाएको र पत्रकारविरुद्धमा निर्णय र निर्देशन गरेको भन्दै बोटलर्स नेपालमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले शनिबार विज्ञप्ति जारी गर्दै महासंघका सदस्य तथा लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध बोटलर्स नेपालको व्यवस्थापनका तर्फबाट नाम नै तोकेर तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेका हुन् ।
बोटलर्स नेपालको ७३ प्रतिशत शेयर नेपाललाई थाहा नै नदिई नेपालबाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा फलोअपसहित समाचार लेखेपछि नाम नै तोकेर तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएको पत्रकार बुढाथोकीले महासंघमा जानकारी गराएका थिए । साथै केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएको पत्रकार बुढाथोकीले बताएका छन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका साथै संविधानविपरीतको काम भएको भन्दै महासंघले आपत्ति जनाएको छ । यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ ।
‘महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

