जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेल बजारबाट पाँच जनालाई पक्राउ गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँच जना युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय वसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।
तासको खालबाटै पक्राउ परेका उनीहरूको साथबाट नगद ७१ हजार २० र एक बुक ताससमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।
पक्राउ परेका पाँचैजना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गर्नुका साथै हिरासतमा राखेर कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।
जुवातास खेलिरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हीराधनको कोठाबाट उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाडलाई लक्ष्य गरी सुरक्षा सतर्कतालाई कडाइसाथ पालना गरेको छ।
चाडबाडको समयमा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भीडभाड हुने स्थानमा प्रहरी गस्ती टोली परिचालन गरेको छ।

