मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ ।
उक्त वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।