चितवन स्थित केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालले पौष महिनाको मासिक बुलेटिन पौष १२ गते स्वास्थ्य सेवा विभाग उपाचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायमाझि, डा. प्रकाश बुढाथोकी एवम सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डा. गुणराज अवस्थीज्युको विशेष उपस्थितिमा सार्वजनिक गरेको छ।
पछिल्लो समय सुधारको बाटोमा अग्रसर हुँदै गरेको भरतपुर अस्पतालको फार्मेसी अन्तर्गतको सेवा भने उत्कृस्ट बन्दै गएको प्रस्तुत बुलेटिनले खुलस्त पारेको छ। अस्पतालले जारी गरेको बुलेटिनमा आ व २०७५/७६ देखि हाल सम्म आइपुग्दा अस्पताल फार्मेसीले पछिल्लो ५ महिनामा उल्लेखनीय सफलता प्राप्त गरेको विवरणमा उल्लेख छ। वार्षिक रुपमा सरदर ४ करोडको नाफा गरेको अस्पताल फार्मेसीले पछिलो ५ महिनामा झन्डै ३ करोड आम्दानी गरेको प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ।
अस्पतालको आम्दानीको मुख्य श्रोत रहेको भरतपुर अस्पताल फार्मेसीमा पछिल्लो समय बिरामीहरुले बिमामा पाइने औषधिहरु निरन्तर रुपमा वृद्धि हुँदै गएको बताउँछन्। अंकगणितीय हिसाबमा फार्मेसीको आम्दानी यही अनुपातमा बढ्दै जाँदा अस्पताल फार्मेसीको वार्षिक खुद नाफा ७ करोडको हाराहारीमा पुग्ने आंकलन गर्न सकिन्छ। जुन अघिल्लो आर्थिक वर्षहरु भन्दा दोब्बरनै हुन जाने देखिएको छ।
हालको अवस्थामा औषधिको सहज आपूर्ति व्यवस्थापनका लागि खरिद सम्झौता भएका सप्लायर्ससंग माग भए बमोजिमका औषधिहरु समयमा उपलब्ध नभएमा ति सप्लायर्सलाई ताकेता/पुन : ताकेता एवं कारवाही गरिएको जानकारी पत्र पत्राचार गरिएको साथै उक्त सुचना अस्पतालको वेबसाइट र सुचनापाटिमा प्रकाशित गरेर अत्यावश्यक औषधि खरिद गर्ने कार्य प्रारम्भ भैसकेको पनि अस्पतालको उक्त बुलेटिनमा लेखिएको छ।
भरतपुर अस्पतालमा बिरामीहरुले १९ जना दक्ष फार्मेसी जनशक्ति मार्फत २४ घण्टानै फार्मेसी सेवा लिँदै आइरहेका छन्।



