काठमाडाैं,१६-पुस आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएकाे छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
विपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
४६ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विपी पुत्र नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शशांक कोइरालाले पनि सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुहुन्छ “नेपालको प्रजातान्त्रिक आन्दोलनका मुर्धन्य ब्यक्तित्व महामानव विपि कोइरालाले आफुलाई राजद्रोहका दर्जनौ मुद्दा र फाँसीको सजाय पनि हुन सक्ने अवस्था हुँदाहुदै, प्रवासको लामो बसाई पछि २०३३ सालमा राष्ट्र संकटमा परेको महशुस गर्दै मेलमिलापको निति लिएर भारतबाट पौष १६ गते नेपाल फर्कनु भएको थियो। मुलुक संकटमा पर्दा सम्पुर्ण नेपालीहरुमा एकता हुनुपर्छ भनेर विपि कोइरालाले मेलमिलापको निति लिएर फर्केको दिनको सम्झना स्वरुप हरेक बर्ष पौष १६ गतेका दिन नेपाली कांग्रेसले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” मनाउदै आइरहेको छ।
झण्डै ४६ बर्ष अघि विपि कोइरालाले आवहान गर्नु भएको मेलमिलाप नितिको वर्तमानमा पनि नेपाली कांग्रेस पार्टी भित्र र बाहिर उत्तिकै सान्दर्भिकता महशुस हामीहरूले गरिरहेका छौ। नेपाली कांग्रेसलाई सशक्त बनाउन पार्टीका साथीहरू बिचमा एकता र मेलमिलापको आवस्यकता छ भने मुलुकको समृद्धिको लागि सम्पुर्ण पार्टीहरु तथा आम नेपाली नागरिकहरुका बीचमा एकता आवस्यक छ ।”

