निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्रका शीर्ष नेतासँग छलफल गरेका छन्। शुक्रबार बिहान बालुवाटारमा नेपाली कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल गरेका हुन्।
उनीहरुबीच स्थानीय निर्वाचन, बुधबार भएको राष्ट्रिय सभाको निर्वाचन र समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार तीन शीर्ष नेताको छलफलपछि सत्ता गठबन्धनको बैठक शनिबार बोलाउने सहमति भएको छ । गठबन्धनमा पाँच दल सहभागी छन्।
यस अगाडि बिहीबार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री देउवालाई संविधानअनुसार समयमै निर्वाचन गर्न सुझाव दिएकी थिइन्। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका थिए। प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे दलहरूसँग परामर्श भइरहेको जवाफ दिएका थिए। ‘संविधानको कार्यान्वयनमा सरकार अडिग छ,’ देउवाको जवाफ थियो, ‘संविधानको भावनाबमोजिम नै निर्वाचन हुन्छ।’
कांग्रेसका केहि नेता निर्वाचनकै पक्षमा भए पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको चंगुल परेर निर्वाचनको मिति तय नभएको चर्चा रहेको छ। निर्वाचनको सम्बन्धमा कांग्रेसले राष्ट्रिय सहमतिको पहल गरिरहेको नेता मीनबहादुर विश्वकर्माले बताए। समयमा निर्वाचन गर्नुपर्ने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको नेता विश्वकर्माको भनाइ छ। एमालेले स्थानीय निर्वाचन टार्ने सत्ता गठबन्धनको क्रियाकलापविरुद्ध कानुनी, संवैधानिक र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताउँदै आएको छ।
आयोगले २०७९ वैशाख १४ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको छ। दुई चरणमा गर्ने भए वैशाख १४ र वैशाख २२ को मिति उसले प्रस्ताव गरेको छ। यसअघि २०७४ वैशाख ३१ गते पहिलो, असार १४ मा दोस्रो र असोज २ गते तेस्रो चरणमा निर्वाचन भएको थियो। स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्न पटक–पटक आग्रह गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार स्थानीय चुनावका विषयमा छलफल र परामर्श जारी छ।