बेलायती टेनिस स्टार एम्मा रेडुकानुलाई पछ्याउने ३५ वर्षीय अमृत मगर दोषी ठहरिएका छन्। बेलायतको ब्रमली म्याजिस्ट्रेट अदालतले मगरलाई शुक्रबार दोषी ठहर गरेको हो।
उनको सजाय के कति हुन्छ त्योबारे भने तय भइनसकेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन्। १९ वर्षीया टेनिस खेलाडी रेडुकानुलाई पछ्याइरहेका मगरलाई उनको घरको सिसिक्यामेराले देखाएको थियो। रेडुकानुले आफूलाई अहिले एक्लै घरबाहिर जान डर लागिरहेको डेली मेललाई बताएकी छिन्।
मगर अघिल्लो वर्षको डिसेम्बरमा पटक—पटक रेडुकानुको घर पुगेको पाइएको छ। मगरले अदालतमा आफ्नो व्यवहारले रेडुकानुलाई विचलित बनाएको थाहा पाउँदा आफू लज्जित भएको उल्लेख गरेका छन्।

