सब–इन्जिनियरलाई मोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुमा कार्यरत सब–इन्जिनियर पवनकुमार यादवलाई सोमबार अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सोलुखुम्बुले प्रहरीले जनाएको छ।
घटनापछि फराहर रहेका उनीहरूलाई सदरमुकाम आसपासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
प्रहरी निरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय माधव राईसहित अन्य ५ जना १८ वर्षभन्दा कम उमेरका छन्। उनीहरूमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य तीनजना भने फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले बताए।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का ९ जना विद्यार्थीले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवमाथि अभद्र व्यवहार गरेको आरोप छ।
जिल्लाको महाकुलुङ गाउँपालिकाका ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सब–इन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उक्त विद्यार्थी संगठनले विज्ञप्तिमार्फत दाबी गरेको छ।
हिनामिना गरेको रकम तत्काल फिर्ता गर्न पटक/पटक ताकेता गर्दा समेत बेवास्ता गरेकाले सांकेतिक कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कारबाही गर्न विभिन्न संघ संगठनको माग
कर्मचारीका विभिन्न संघ संगठनले सब–इन्जिनियरलाई अभद्र व्यवहार गर्ने समूहलाई कारबाही गर्न माग गरेका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति सोलुखुम्बु, नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयका सब–इन्जिनियर यादवलाई जुत्ताको माला र मोसो दल्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।
संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा गैरकानुनी, अमानवीय र घृणित कार्यको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गरिएको छ।
राष्ट्र सेवक कर्मचारीको ज्यूज्यानको सुरक्षाको प्रत्याभूति दिलाउँदै स्वतन्त्र र भयरहित रूपमा काम गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ।
समयमा नै दोषीलाई प्रक्राउ गरी कारबाही प्रक्रिया सुरु नभए राष्ट्रसेवकहरूको सुरक्षाका लागी सम्पूर्ण ट्रेड युनियनकर्मीहरू आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।
तत्काल रिहा गर्न पार्टीको माग
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सोलुखुम्बुले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ।
जिल्ला सेक्रेटरी निमा शेर्पाले एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला सदस्य एवं सोताङ र महाकुलुङका इन्चार्ज माधव कुलुङ पक्राउ पर्नुलाई नेपाल सरकारसँग गरिएको तीनबुँदे सहमति विपरीत हुने भएकाले तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ।

