पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले स्मार्ट स्कुल एप को सुरूवात गरेको छ । सामुदायिक विद्यालयमा प्राविधिकतर्फ बालीविज्ञान विषय पढ्ने विद्यार्थीका लागि स्कुलमै कृषि उपज उत्पादन गर्दै आयआर्जनको व्यवस्थासहितको शिक्षा आरम्भ गरेको विद्यालयले पश्चिम चितवनमै पहिलो स्मार्ट स्कुल एप लागू गर्ने सामुदायिक विद्यालय बनेको छ।
मोबाइल एप्सबाट विद्यालयमा विद्यार्थीको उपस्थिति, गृहकार्य, परीक्षाफल, विद्यालयको सूचना, मासिक शुल्क, विद्यालयको सवारीसाधन रहेको स्थानलगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने विद्यालयका उप-प्रध्यानाध्यापक सबिन न्यौपानेले चित्रवन खबरलाई जानकारी दिनुभयो। उनले स्मार्ट स्कुल एउटा मोबाइल एप भएको र त्यसले विद्यार्थीहरु विद्यालय पुगे/नपुगेको, गृहकार्य, विद्यालयको सूचनालगायतका बारेमा जानकारी गराउँदै शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच समन्वयको भूमिका खेल्ने बताए ।
उनले थपे ‘घरबाट विद्यालय जान्छु भनेर विद्यार्थी नजाने गरेको पाइन्छ, अब यो एपको माध्यमबाट घरमा रहेका अभिभावकहरुले आफ्ना छोराछोरी विद्यालय पुगेपछि एपमा शिक्षकहरुले हाजिरी गरेपछि जानकारी सिधै अभिभावक सम्म पुग्छ’। के सामुदायिक विद्यालयमा पठनपाठन गर्ने सबै विद्यार्थीका अभिभावकसंग स्मार्ट फोन बोक्ने सामर्थ्य छ त ? भन्ने हाम्रो प्रश्नमा ९८ % अभिभावकहरु स्मार्ट प्रविधि संग जोडिईसकेको र बाँकी २% लाई पनि प्रोत्साहन गरिरहेको र छिट्टै नै विद्यालयका काम कारवाहीहरु प्रविधिमैत्री बनाएर लैजाने न्यौपाने बताउँछन्।
उनले एपमा परीक्षाफल, विद्यालयका सूचना, विद्यार्थीहरुको मासिक दस्तुरलगायतका बारेमा समेत जानकारी उपलब्ध हुने बताए । विद्यार्थीहरुले दैनिक गृहकार्य गरेमा उनीहरुको शैक्षिक सुधार हुने भएकाले गृहकार्य भए-नभएको बारेमा समेत एप मा जानकारी दिइने भएकाले अभिभावकहरुले आफ्ना बालबच्चाको गृहकार्यबारेमा थाहा पाएर गर्न लगाउन सहज हुने उनले जानकारी दिए । न्यौपानेले थपे “अब हुने त्रैमासिक परिक्षामा पनि पूर्ण रुपमा एपको माध्यमबाट परीक्षाफल प्रकाशन गरिने योजना रहेको छ।”
सवारी भएका विद्यालयहरुमा एपबाट जिपिएस ट्र्याकिंग प्रविधि मार्फत आफ्ना बालबच्चा चढेको सवारी बस कहाँ पुग्यो भनेर हेर्न सकिने पनि उनले बताए।

विद्यालयमा अध्ययनरत कृषि विद्यार्थीहरुद्वारा उत्पादित तरकारीहरू (फोटो : रितम्बर घिमिरे )
प्रविधिको युग भएकाले स्मार्ट स्कुल उपयोगी एप भएको प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताए । २०७४ सालबाट बालीविज्ञान विषय पढाउन लागेको यो विद्यालयले आफ्नो स्वामित्वमा रहेको चार बिघा क्षेत्रफलमध्ये दुई बिघा क्षेत्रफल जग्गा विद्यार्थीका लागि कृषि उत्पादनमै प्रयोग गरेको उनले बताए ।
‘बालीविज्ञानतर्फ पढ्ने विद्यार्थीले कक्षा नौदेखि नै समूह बनाएर तरकारी तथा फलफूल उत्पादनमा लाग्छन्’, प्रअ घिमिरेले भने, ‘यो कार्यले एकातर्फ विद्यार्थीलाई प्रोत्साहनस्वरुप विद्यालयले केही रकम दिन्छ भने अर्काेतर्फ उनीहरुले उत्पादन गरेका फलफूल तथा तरकारी पनि आँफै बिक्री गरेर आम्दानी गर्न सक्छन् ।’ ‘विद्यार्थीलाई कृषि उत्पादनका लागि व्यावहारिक ज्ञान दिई उत्पादन वृद्धि गरेर व्यावसायीकरण गराउने हाम्रो उद्देश्य हो’, उनले अगाडि थपे, ‘विद्यालयबाट बाहिर निस्कँदै गर्दा पनि एउटा विद्यार्थी व्यावसायिकरुपमा दक्ष हुन्छ भन्ने विश्वास लिएका छौँ ।’ र त्यसका लागि हरितगृहको निर्माण कार्य पनि अगाडी बढिरहेको उनले बताए।
पश्चिम चितवनमै सामुदायिक विद्यालयमा पहिलोपटक यस्ता किसिमका प्रविधिहरुको अवलम्बन गर्दै प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गरेर विद्यार्थीहरुलाई स्वावलम्बी र प्रयोगात्मक बनाउँदै लैजाने भिमनगर माविको कार्ययोजना रहेको न्यौपाने जिकिर गर्छन्।