चितवनमा पनि कुखुरामा लाग्ने रोग बर्डफ्लु देखिएको छ। पूर्वीचितवनको राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपंछी तथा कृषि फर्ममा रहेका कुखुरामा बर्डफ्लु ‘एच’ भेटिएको हो। कुखुरा मर्न थालेपछि कुखुराको स्वाब निकालेर परिक्षण गर्दा वर्डफ्लु भएको पुष्टि भएको हो।
उक्त फर्ममा रहेका दुई हजार कुखुरा नष्ट गर्न थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिएका हुन्। ‘२५ गते परिक्षण गर्दा कुखुरामा बर्डफ्लु भेटिएपछि त्यस फर्मदेखि वरपर सय मिटरसम्मका पंछी नष्ट गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आज कुखुरा नष्ट गर्दैछौ।’
जिल्ला बर्डफ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर खोरमा भएका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो। बैठकले दुई किलोमिटरसम्मको क्षेत्रमा निगरानी राखेर त्यस क्षेत्रका पंछीको बेचबिखनमा पनि रोक लगाएको छ।
शंकास्पद देखिएका फर्मको नमूना संकलन गरेर परिक्षण गरेर नियन्त्रणको लागि टोली सक्रिय बनाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका निमित्त प्रमुख डा प्रभात न्यौपानेले बताए। ‘वर्डफ्लुलाई फैलन नदिन हामीले टिम बनाएर परिचालिन गरिसकेका छौँ। त्यसलाई संक्रमण मुक्त बनाउने तथा खोरबाट संक्रमण बाहिर नआउने गरी व्यवस्था मिलाएको पनि न्यौपानेले बताए।

