धर्म, दर्शन आवश्यकता होइन, रुचि हो (विचार)
– रामशरण गैरे
जीवनमा कुनै वाद, मत वा दर्शनबाट म कहिल्यै पूर्ण सहमत हुन सकिन । मैले विभिन्न धर्मको विवेचना पढेकोछु। सनातन हिन्दु परिवार र प्रष्ठमूमिमा जन्मेको, हुर्केको हुनाले रामायण, गीता, महाभारत, उपनिषद् लगाएतका थोरबहुत वेद र पुराणहरु मैले पनि पढेको थिँए । गीता र रामायण भने धेरै पटक नै पढे । हिन्दु समाजमा यी दुबै ग्रन्थ अति नै पुज्जीय मानिन्छन्। सबै गुरु र महापुरुषले यी दुबै माथि बोलेर यिनको महत्व स्थापित गरेको जो कोहीलाई पनि विदित नै छ । मैले पनि आफ्ना अनेकौं लेख-रचनामा अनेकौं पटक यी ग्रन्थको उदाहरण दिएको छु, ‘आफू केही नबुझे पनि अरुलाई बुझाउने शाश्वत धृष्टता गरेको छु, गरी नै रहेको छु ।
मानिसमा छटपटी छ, भित्र ज्वाला छ खोजीको तर त्यो ज्वाला धुवाँले ढाकेको छ, त्यसैले बेहोसीमा नै समय बितेको छ। यी विश्वास र मान्यताहरुमा नै जन्म लिएर ईश्वर तथा सत्य खोज्दा प्रज्ञा प्राप्तिको अवस्थाबाट मानिस बञ्चित हुन्छ। प्रज्ञाको जागरण नभई ज्ञान अनुभूतिमा आउँदैन। ईश्वर भनेको एउटा अलौकिक सर्व शक्तिमान सत्ता (अस्तितत्व)को काल्पानिक अवधारणा हो, जसले यो संसार (विश्व) को सृजना गरेकोहो र त्यसलाई शासन गरेकोछ भन्ने अनुमान गरिएको हुन्छ।
वास्तवमा कृष्ण, वुद्ध, जिसस आदि महापुरुषले मानव जीवनको अधिकतम सम्भावनालाई प्रतिनिधित्व गरेका छन्। तर मानिस तिनीहरुका नाममा हौसिएका छन्। तिनमा तथा तिनका नाममा टाँसिने होइन, तिनीहरुले त मानिसहरुलाई तिमीहरु पनि हामी जस्तै अनुभव–अनुभूति गर्न सक्छौँ र यो मार्ग अपनाएर हेर भनेका हुन्, ज्ञान र सन्देश दिएका हुन्। त्यसैले मानिस ती महापुरुषजस्तै बन्न सक्छ, तर अर्कै पक्ष र चक्रमा फसेको हुन्छ।
लामो समयको याज्ञिक कार्यको अनुभवबाट वैदिक जनमध्येका चिन्तकहरूले याज्ञिक कार्यबाट कुनै कामना पूर्ण नभएको र याज्ञिक कार्य उपलब्धि शून्य महसुस गरे । यसले दुई कुराको जन्म गरायो, याज्ञिक कार्यको विरोध र अवस्था प्रति चिन्तन । यसैले यज्ञको विकल्पमा दुई प्रकारको चिन्तन देखिन गयो, पहिलो प्रकृतिपरक चार्वाक या लोकायत मत, जो वेद, यज्ञ, हिंसा (पछि गएर वैदिक दर्शनको परलोक पुनर्जन्म, स्वर्ग) आदिलाई नमान्ने मतका थिए ।
अर्को मतको प्रकृति भने अलि भिन्न प्रकारको थियो, यो मतका अनुयायीले, जो वैदिक मूलका चिन्तक थिए, यज्ञादी क्रियालाई धर्मको काम मान्न अस्वीकार गरे । उनीहरू त्यागी तपस्वी, एकान्तवादी मुनि थिए, पराविज्ञानवादी, जो केवल चिन्तन मनन गर्ने र ज्ञान प्राप्त गरेर ज्ञानी हुनुलाई नै धर्म मान्दथे, यिनैको चिन्तनले उपनिषद जन्मियो । यता वेदलाई मान्ने वैदिक ऋषिहरू पनि दुई धारमा विभाजित भए, यज्ञवादी क्रियाका समर्थक र उपनिषदका अनुयायीहरू, र यिनको बिचमा पनि खुब सङ्घर्ष भयो ।
यज्ञवादी कार्यमा विभिन्न मेध यज्ञहरू थपिएका थिए, यज्ञवादी कार्यमा पशु वध र अश्वमेध यज्ञका नाममा युद्धहरू पनि भए । यज्ञवादी क्रियाका समर्थकहरू नै पछि गएर हिन्दु धर्मका कर्मकाण्डी ब्राह्मण पुरोहितहरू भए ।धर्मलाई व्यापार बनाई वैदिक सनातनधर्मलाई भाँडभैलो पार्ने उद्देश्यले इण्डियामा विभिन्न सम्प्रदायहरू, विभिन्न भगवान र गुरुहरू उत्पन्न गर्नु नौलो कुरा होइन । भागवत लगाउँदा वा यज्ञ, कोटिहोम गर्दा वेद अनुसार नगर्नु धर्ममाथि आक्रमण हो । हाम्रा कथित गुरु, गुरुआमाको यो कथित धर्मावतारका कारण वैदिक सनातन धर्म संकटमा परेको छ ।
हामी ब्रम्हाण्डमा छौँ र यही ब्रम्हाण्डबाटै उत्पत्ति भएका हौँ। यो सृष्टि अनादिकाल देखि चलिआएको छ र अनन्तसम्म चलिरहनेछ। पृथ्वी यो व्यापक ब्रम्हाण्डको एउटा उपग्रह हो र यहाँ मानव जातिको विशिष्ट अस्तित्व छ। मानव जातिको विकासक्रमबारे एकै मत छैन र भिन्न मत छन्। विज्ञानको विकासवादी मतले तल्लो जीवजन्तुबाट विकसित हुँदै आएको मान्छ भने हाम्रा धार्मिक मतले ईश्वर तथा परमात्माद्वारा सर्वश्रेष्ठ जीवका रुपमा मानव जातिको सृष्टि भएको मान्छ।
मेरो अध्ययनको निष्कर्ष कुनै धर्म पनि आफैंमा पूर्ण छैनन् ।कुनै शंकाको समाधान हिन्दु धर्मले हुन्छ भने केही प्रश्नलाई यसले अति प्रश्न भनी ख़ारिज गरिदिन्छ ।यस्तै बौद्ध धर्मले जीवन र जगतको व्याख्या गर्दै लैजान्छ । तर मानव मनका भित्तिमा रहेका सबै जिज्ञासा भने यसले पनि मेट्न सक्दैन । अनेकौं उपनिषद्ले अनेकौं तबरले चर्चा परिचर्चा गरे पनि मानव मनलाई उनले दिएको समाधानबाट पूर्ण सन्तुष्टि प्राप्त हुँदैन । मूल प्रश्नको वरिपरि रहेर अनेकौं प्रश्नमाथि टीका टिप्पणी हुन्छन तर मूल प्रश्न भने सधै अनुत्तरित नै रहन्छ ।
सबै मत, वाद र दर्शनका प्रवर्तकहरु र अहिलेका राजनीतिक पुरुषहरु उस्ताको उस्तै लाग्छन् । मानिस सधैं कुनै वाद वा मत वा दर्शनमा अल्झिएकै हुने रहेछ। कुरा भने उसले स्वतन्त्रताको गरे पनि उ आफैले भने आफ्नो आस्था र विश्वास कही न कही बन्धकी राखेकै हुन्छ ।कुनै दर्शन र धर्ममा पूर्ण सत्यता नभएको सत्य एकतिर छ भने सबैका कुरामा जीवनोपयोगी अनेक महत्वपूर्ण विचार र दर्शन प्रतिपादित रहेको अर्को सत्य पनि उत्तीकै सत्य तथ्य रूपमा विधमान रहेको छ।
“मानवतावाद” नै मलाई सर्वश्रेष्ठ वाद लाग्छ । मानवकल्याणका लागि सिर्जित या प्रतिपादित कुनै पनि वादमा मानवता छैन भने त्यो अर्थहीन छ । मेरो ध्येयका रूपमा जीवन दर्शनको कुरा गर्नुपर्दा विभिन्न दर्शन र दार्शनिकहरूले जीवनलाई कसरी बुझेका या परिभाषित गरेका छन् ? त्यसलाई बुझ्ने प्रयत्न गर्नु हो । र, अर्को कुरा म जीवन र जगतलाई कसरी बुझ्छु भन्ने हो । जीवन मृत्युलाई कसरी भव्य बनाउने भन्ने तयारी हो । जगत त एक भौतिक वस्तु हो । हामी नरहँदा पनि यो रहन सक्छ । यसलाई अर्थ दिने, अर्थपूर्ण बनाउने मान्छेले हो ।
धर्म त जहिले पनि एक हुन्छ । हो, संस्कृति अनेक हुन सक्छन, त्यसैले नेपाललाइ बहुसांस्कृतिक हिन्दुराष्ट्र भन्नु उचित हुन्छ । विश्व व्यापी मूल्य बोकेको धर्म वा भनौँ विश्व चलाउने धर्म एउटै हुन्छ । मानिस पशुभन्दा श्रेष्ठ भएकाले उसलाई गाँसबास मात्रले पुग्दैन । उसलाई धर्म पनि चाहिन्छ ।धर्म छोडिदिँदा मनुष्य पनि पशु नै बन्दछ । धर्म जाति भन्दा पनि शक्तिशाली चिज हो । जातीय राष्ट्रको दिवास्वप्न देख्नेले धर्म सापेक्षताको कुरा किन बुझ्दैनन् ?धर्म नभएको कुनैपनि चिज नै हुँदैन । प्रत्येकको वैशिष्ट्य अर्थात् अरुबाट अलग चिनाउने विशेषता नै धर्म हो । वस्तुलाइ वस्तु, व्यक्तिलाइ व्यक्ति, समाजलाई आदर्श समाज र राज्यलाई आदर्श र जनप्रिय बनाउने अभिन्न गुण नै धर्म हो ।
वैदिक सनातन धर्मको प्रचलित नाम “हिन्दू” हो | हिन्दुधर्म २ अरब वर्ष पुरानो हो । नेपाली पात्रोमा ‘सृस्टितो गताब्दा’ भनेर आज पनि १ अरब ९५ करोड ५८ लाख ८५ हजार ११५ वर्ष लेखिएको हुन्छ । नेपाल विश्वधर्मको जन्मभूमि हो । विश्वको सबैभन्दा वैज्ञानिक धर्म र पुरातन धर्म हिन्दु धर्म शिवपार्वतीद्वारा विश्वलाई नेपालबाट नै प्राप्त भएको हो । धर्म भनेको धारण गर्ने सनातन ज्ञान हो । हजारौं हजार वर्षदेखि आएको सनातन परम्पराको क्रमबद्धताको ज्ञान नै विज्ञान हो ।
धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो । पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञानका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे । सनातन धर्मको ग्रन्थ वेदलाई आधुनिक वैज्ञानिकहरुले पनि स्वीकारेका छन् । वेद एउटा विज्ञान भएकोले जसमा उल्लेखित ज्ञानको कुराहरु हजारौं बर्षदेखि एकदम तर्क सहित चल्दै आएको छ ।
हिन्दु धर्मको सुरुवात पनि पृथक् भने छैन । स्टेपि मैदानका विरोस भाषा बोल्ने देव जातिहरू पनि समूहमा बस्दथे, सिकार गर्दथे र अग्निको वरिपरि बसेर प्राप्त सिकारको एक टुक्रा अग्निलाई समर्पित गरेर बाँकी सिकार र अन्य खाद्यहरू वरिपरि बसेर खाने कार्य गर्दथे, जसलाई यज्ञ भनिन्थ्यो । कालक्रमेण यही यज्ञ देव जातिको संस्कार हुँदै गयो भने पछि गएर यज्ञ विधान गर्ने मन्त्रहरू पनि बने । वैदिक धर्ममा यज्ञ कर्मकाण्ड थियो भने यज्ञको विधान गर्ने मन्त्रहरू बनाइनु, ऋचाहरू लेख्नु ज्ञान काण्डको सुरुवात थियो ।
कर्मकाण्डमा पशु बली दिइन थालियो, मनोकामना पूर्ण गर्नको लागि इन्द्रादी देवतालाई मासु बोसो आदि अग्निमा जलाएर त्यसको गन्धले प्रसन्न पार्न थालियो र सयौँ वर्षसम्म यज्ञ नै वैदिक जनहरूको सर्वोपरि धर्म हुन गयो । घोडा बेच्ने र सधाउने कामको सिलसिलामा यी विरोस भाषीहरू सुमेर, मेसोपोटामियन, हित्ती, अमरोइट आदि अनेक सभ्यताको सभ्यताको सम्पर्कमा आए ।
मेसोपोटामियन सभ्यतामा देव देवी, आदिको उपासना मूर्तिको माध्यमबाट हुने गर्दथ्यो मूर्ति र मन्दिर सुमेर र मेसोपोटामियन सभ्यताका देन हुन्, तथापि वेदमा मन्दिर र मूर्ति पूजाको उल्लेख भने छैन, यसको कारण भनेको आर्यहरू कुनै काल्पनिक देव (सम्भवतः प्रेत) या अदृश्य शक्तिको उपासक थिए, जुन वेदको अध्ययन गर्दा अदृश्य अगोचर ब्रह्मको धमिलो वर्णनले स्पष्ट पार्दछ । अथर्ववेदमा भएको होम, यज्ञ, वशीकरण, भूत विद्या आदि धेरै कुराहरू असीरिया पनि प्रचलित थियो । यी प्रचलनहरू विस्थापित पुरोहितहरूले सप्तसिन्धुमा लिएर आएका थिए ।
शाक्त सम्प्रदायका तान्त्रिकहरूले जब यज्ञ विधानलाई अपनाए तब मारण, मोहन, उच्चाटन, वशीकरण आदि शक्ति प्राप्तिको भैरव–भैरवी, चण्डी काली, कराली आदिको सिद्धि पनि यज्ञको माध्यमबाट नै सिद्ध गरिन लागियो । बौद्ध धर्मको उदय पश्चात् हिन्दुहरूको यज्ञ गर्ने धर्म शिथिल भयो र सुषुप्त अवस्थामा पुग्यो । सुमेरियन र मेसोपोटामियन सभ्यताको सिको गर्दै बौद्ध धर्मले बुद्धको मूर्ति बनाएर मूर्तिलाई ध्यानको साधन बनाउन थाल्यो, बौद्ध धर्मको चरम अवस्थासम्म यो निक्कै फैलियो, बुद्धका अनेक मूर्तिहरू बने । बुद्ध धर्मको उदयको साथसाथै हिन्दुहरूको यज्ञ धर्म दब्न गयो । हिन्दु देवताका मूर्तिहरू भने छैठौं शताब्दीभन्दा यताका छैनन् ।
सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ’ भनेका थिए । यसले धर्म र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो हुन्छ भन्ने पुष्टि गर्दछ ।
सृष्टिको आदिकालमा नै हाम्रा पूर्वज प्रात: स्मरणिय ऋषि महर्षिहरूले आमरण त्याग तपस्याद्वारा अलौकिक योगशक्ति प्राप्त गरेका थिए । त्यसैबाट तिनीहरूको दिव्यदृष्टि पनि भएको थियो । उनीहरूका निमित्त भूत, भविष्य, वर्तमान तिनै कालका विषयहरूको यथार्थरूपले अवगत गर्नु पनि साधारण कुरा जस्तै थियो ।
मानिसले जुन काम गर्दा पनि कर्तव्य संझि फलको इच्छामा आशक्त नभइ धैर्यपूर्वक काम गर्न लागेमा सिद्ध गर्न नसकिने कुरा कमै होला । यसमा अहिले त चन्द्रलोकको यात्रा गरिसकेका वैज्ञानिकहरू नै उदाहरण बनिसकेका छन् । स्वार्थरहित परोपकारमा रातोदिन लागिरहेका ती ऋषिमुनिहरूले प्रकृतिका सूक्ष्म तत्वहरुको रहस्य पत्ता लगाए ।
धर्मले त्यसमा विश्वास गर्नेहरुको मनमाथि शासन गर्दछ र त्यसरी एक विशेष सामाजिक कार्यको सम्पादन गर्दछ। यसतो कार्य भनेको सबैभन्दा मुख्य कुरो धर्मको दार्शनिक कार्य हो जसले गर्दा धर्मलाई दर्शन संग सादृष्य तुल्याउंदछ। जबकि भौतिकवादी दर्शनले मान्छेलाई वैज्ञानिक तथ्याङ्क र मानिसहरुका अनुभवका आधारमा अगाडि बढ्नेक्रममा धर्म भनेको जगत बारेको अवैज्ञानिक एवम् विकृत दृष्टिकोण हो जसका निम्ति परालौकिक शक्तिहरु माथिको पूर्ण विश्वास जरुरत पर्दछ भन्ने सम्बन्धमा जगतको चित्रण र मान्छेको भूमिकालाई प्रस्तुत गर्दछ।
धर्मले परलोकमा जीवनको निरन्तरता प्राप्त हुने आशा देखाएर मानिसहरुको आसन्न मृत्यु प्रतिको प्राकृतिक भयमा मलमपट्टि लगाएर क्षतिपूर्ति गरिदिने काम पनि संपादन गर्दछ। त्यसो गर्नेक्रममा धर्मले यस लोकमा दु:खपूर्ण रहेको उनीहरुको जीवन अर्को लोकमा सुखपूर्ण हुनेछ भन्ने शिक्षा दिएर मानिसहरुलाई विद्यमान सामाजिक व्यबस्था संग मेलमिलाप गराउन खोज्दछ। कुनैपनि वर्गविरोधि समाजमा धर्म र धार्मिक संस्थाहरु (चर्च आदि) लाई सत्तासिन वर्गहरु द्वारा वित्तीय सहयोग प्राप्त भएको हुन्छ र त्यसकारण वैयेक्तिक स्वामित्व एवम् विभिन्न मानिसहरु अनि वर्गहरु बिचको असमानतालाई पवित्रीकरण गर्ने कार्य गर्दछ। त्यहिंनेर नै धर्मको सबैभन्दा महत्वपूर्ण सामाजिक कार्य निहित रहेको हुन्छ।
वास्तविक रूपमा ईश्वरको बास मानव हृदयमा हुन्छ, शास्त्रमा होइन। धर्मको उद्देश्य मनुष्य र नैतिकताका लागि हुनुपर्छ। यस्तो भएन भने धर्म क्रूर अन्धविश्वास हुन जान्छ। नैतिकता जीवनको आदर्श मात्र नभएर जीवनको नियम र कानुन हुनुपर्छ। धर्मको काम विश्वको उत्पति र अन्त्यको व्याख्या मात्र गर्ने होइन, नयाँ ढंगले विश्वलाई पुनर्निर्माण गर्नु हो। संसारमा दुःख स्वार्थको टकरावको कारण हुन्छ। सम्पत्तिको निजीकरणबाट स्वामित्व, अधिकार र शक्ति एक वर्गको हातमा आउँछ, जसले गर्दा अर्को वर्गलाई पीडा र दुःख हुन्छ।
दर्शनको उत्पत्ति धर्मको आधारमा भएको छ । मानिसले श्रद्धाले स्वीकार गरिएको धर्मलाई तर्कले सिद्ध गर्ने प्रबल कोसिस नै दर्शन हो । दर्शनको सुरुवात पूर्वीय दर्शन या वैदिक दर्शनबाटै भएको हो, यसमा दुई मत छैन, वैदिक दर्शन सुरुवातको एक शतकपछि मात्र पश्चिममा दर्शनको प्रारम्भ भयो । पूर्वीय दर्शन उपनिषद् र बुद्ध, जो एकाध दशक अघि पछिका थिए, बाट भएको मानिन्छ भने पश्चिममा थेलस र अरस्तुबाट ।
संसारमा जति पनि दर्शनहरू प्रतिपादन भए ती सबै यी दुई दर्शन धाराबाट नै निस्किएका हुनाले यी दुई दर्शनलाई विश्वमा अन्य दर्शनहरूका प्रतिनिधि दर्शनहरू मानिन्छ । यी दुवै दर्शनहरू ई.पू. ६००–५०० देखि सुरु भए, पूर्वीय या भारतीय दर्शन दुई शतकपछि इ पू ४०० तिर थला पर्याे भने पश्चिममा एक शतक बढी लम्बिएर इ पू ३०० सम्म अगाडि बढ्यो । ई पू ४०० तिर थन्किएको पूर्वीय दर्शन इसाको पहिलो शताव्दिमा फेरि उठ्यो र यसले पाँच शताब्दीको अर्को लामो यात्रा गर्यो । यस अवधिमा पूर्वीय दर्शनको मूलधार भित्रै रहेर अन्य थुप्रै दर्शनहरू प्रतिपादित भए । त्यसपछि भने हिन्दु दर्शनको मृत्यु भयो, इसाको छैठौँं शताव्दि पछि कुनै नयाँ दर्शन आएको छैन, त्यहाँदेखि अहिलेसम्म हिन्दु धर्मका गुरु, स्वामी, महाराज, र कर्मकाण्डी ब्राह्मणहरू हिन्दु दर्शनको लास बोकेर आइरहेका छन् । पछिल्लो काल रजनिशले बुद्धलेझैँ मध्यमार्गवादी सबै दर्शनको छ्यासमिस कुरा उठाए, तर त्यो कुनै नयाँ दर्शन भने हैन ।
हिन्दुधर्म बाट नै २५५० वर्षअघि बौद्ध संस्कृतिको जन्म भयो । बुद्ध हिन्दु थिए, उनले नयाँ धर्म भनेनन् बरु ‘एस धम्मो सनन्तनो’ भनी यो सनातन धर्म हो भनेर भने । बौद्ध मत अनुसार शाक्यमुनी बुद्ध अठ्ठाइसौं बुद्ध हुन । शाक्यमुनी बुद्धभन्दा अघिका सताईसौँ बुद्धलाई दीपंकर बुद्ध भनिन्छ । दीपंकर बुद्धको पालामा सुमेध नामक भिक्षु भएर शाक्यमुनी बुद्धले जन्म लिय। सुमेध भिक्षु हुनुभन्दा पहिला सातपटकसम्म इन्द्र देवता भएर जन्म लिएकाथिय । भिक्षु सुमेध पछि राजकुमार सिद्धार्थ भएर जन्मे । उनलाई शाक्यमुनी बुद्ध हुनुलाई चार असंख्य कल्प लागेको थियो । हो, उनै राजकुमार सिद्धार्थ नै शाक्यमुनी बुद्ध हुन ।
बुद्ध भनेको सम्पूर्ण क्लेशहरु हटाएर चार आर्य सत्य ज्ञान प्राप्त गरेको महापुरुष लाई बुद्ध भनिन्छ । त्यसैले बुद्धको लागि न कोही प्रिय न कोही अप्रिय थिए । उनी सबैप्रति उपेक्षा भाव राख्थे । अष्ठ विद्याले सम्पन्न थिए । लोकको विद् थिए । मनुष्य र जनावरहरुलाई आफ्नो प्रभावमा राख्नसक्ने अनुपम ज्ञान उनीसंग थियो । मनुष्य र देवताका मार्ग दर्शक समेत भएकाले शाक्यमुनी बुद्ध भगवान हुन।
बुद्ध त्यस्तो व्यक्तिलाई भनिन्छ जसले संसारलाई प्रतिशोध र पक्षपातबिना हेर्छ, जो प्रबुद्धको स्थितिमा पुग्छ यो बुझाइको साथ कि म मानव पीडाबाट मुक्त भइसकेको छु, म जन्म र मृत्युको चक्रबाट मुक्त भइसकेको छु भन्ने ठान्छन् ती बुद्ध हुन् । बुद्ध ऊ हो जो बोधी अर्थात् बौद्धिक र नैतिक पूर्णताको आदर्शको स्थितिमा पुग्छ । बुद्ध शब्दको शाब्दिक अर्थ हो प्रबुद्ध ज्ञाता। गौतम बुद्ध अगाडि २७ वटा बुद्ध जन्मि सकेका थिए । सिद्धार्थ गौतमको अलावा ककुसन्ध बुद्ध र कोनागमन बुद्ध नेपालमा जन्मेका हुन् । ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छन्द बुद्ध भनिन्छ । यो भद्रकल्पको यिनी प्रथम बुद्ध हुन् ।
प्राचीन नेपालमा ईशाको छैठौं शताब्दीमा लिच्छवीकालमा अनुपरम भन्ने एक भारदार (लिच्छवी राजाका मन्त्री)द्वारा कान्तिपुरको हाँडीगाउँस्थित सत्यनारायण मन्दिरमा राखिएको र आजसम्म पनि रहेको एक शिलापत्रमा सुगत (बुद्ध)का अनुयायीहरू (बौद्ध धर्मावलम्बीहरू)लाई ‘कुमति, मूर्ख, नास्तिक, कुतार्किक’ भन्ने शब्द प्रयोग गरी गाली गरिएको छ । बुद्ध धर्म मूलभूत रुपमा ‘अनात्म, अनीश्वर’ (आत्मा र ईश्वर नमान्ने)भौतिकवादी दर्शन भएकोले अध्यात्मवादीहरूको कोपभोजनमा परेको हो ।
त्यसै गरी प्राचीन कालका प्रसिद्ध भौतिकवादी दार्शनिक चार्वाकको विचारलाई निन्दा गर्न हिन्दु दार्शनिकहरूले ‘यावत् जीवेत् सुखम् जीवेत् ऋणं कृत्वा धृतम् पिवेत्’ (जबसम्म बाँचिन्छ सुखले बाँच्नु, अर्कासित ऋण लिएर भए पनि घिउ खाएर मोज गर्नु) भन्ने अनैतिक विचार भनी वर्णन गरेका छन् ।ती अध्यात्मवादीमध्ये कुनैले आत्मा र ईश्वरबाहेक अरु सब झूठा हुन्, भ्रम हुन् भने,‘माया’ मात्र हो भने, अस्तित्वहीन हो भने।र, कुनै अध्यात्मवादीले जगत् र पदार्थको अस्तित्व माने पनि आदिआत्मा, परमात्माबाट निस्केको परमात्माको लीला मात्र हो भने ।
यसैगरी आदर्शवादलाई मान्नेहरूले विचार नै सबथोक हो, पदार्थको कुनै अर्थ छैन, भए पनि विचारमा आश्रित र विचारबाट निस्कने र बिलाउने वस्तु हो भने । यो अध्यात्मवाद र आदर्शवादको विरुद्ध भौतिकवादलाई मान्नेहरूले ‘पदार्थ नै सब थोक हो, जगत् नै पदार्थ हो, त्यसैबाट सबथोक निस्कन्छ भने । यो दर्शन मान्नेहरूमध्ये केहीले ईश्वरको अस्तित्व नमानेर सीधै अनीश्वरवाद प्रचार गरे त केहीचाहिँ ईश्वर र परमात्माबारे मौन रहे । प्रसिद्ध भौतिकवादीहरूमा प्राचीन काल का ग्रीसका अरिस्टोटल, भारतका चार्वाक, नेपालकै कक्रुच्छन्द, कनक र सिद्धार्थ गौतमको नाम लिन सकिन्छ ।
नेपालमै किंरात संस्कृतिको पनि जन्म भयो । किंरात बौद्ध संस्कृतिभन्दा पनि पुरानो हो । जिससले पनि नेपालमै आएर धर्मको शिक्षा प्राप्त गरी जेरुसेलममा धर्म प्रचार गर्न गएको कुरा डा होल्जर क्रेस्चनको ‘द अननन लाइफ अफ जिसस’ नामक खोजबाट बुझ्न सकिन्छ । त्यसैले, हिन्दुधर्म नेपालमा जन्मे पनि सम्पूर्ण विश्वको धर्म हो । अरु संस्कृति त हिन्दुसिन्धुबाट निःसृत ससाना नदीहरू हुन् भन्ने बुझ्नुपर्छ । इसाइ सम्प्रदाय २००० वर्ष पुरानो हो भने इस्लाम १४५० वर्षको हो,
ईश्वर र परमात्माबारे पनि बिभिन्न बुझाइ छन्। कसैले निराकारलाई त, कसैले साकार स्वरुपलाई त, कसैले दुवैलाई ईश्वर मानेका छन्। सत्य, शुद्धता, पवित्रता र प्रज्ञा नै ईश्वर हो। ईश्वर चेतना हो र चेतनाबाटै ऊर्जा र पदार्थको सिर्जना हुन्छ, अर्थात अदृश्यबाट दृश्यको उत्पत्ति भएको मत छ। बुझाइ पनि छ।
वास्तवमा मानवको अस्तित्वको निर्माणमा चेतना, ऊर्जा र पदार्थ छ र यसको स्तरअनुसारको रुप, वृत्ति र प्रवृत्ति देखिन्छ। त्यसैले, प्रकृतिको गुणधर्मबारेका कुरा पनि आउँछन्। मानिस समाजमा बस्छ र समाजबाट पनि ऊ प्रभावित हुन्छ। उसको चरित्र र व्यवहार अनि भविष्यका उन्नति पनि उसले बुझ्दै सिक्दै र गर्दै जाँदा हुने परिणाम हुन्। अघिल्ला जन्महरुबाट खराब र असल गुण, धर्म तथा आचरण र व्यवहार आउने कुरा पनि पूर्वीय अध्यात्म दर्शनले भन्छ। वैदिक र बुद्धको बुझाइ यसमा मिल्छ।
महाभारत विश्वको सबैभन्दा लामो महाकाव्य हो । वेदव्यासद्वारा संस्कृतमा लिखित यो ग्रन्थमा लगभग एक लाख श्लोक समावेश छन् । महाभारतले तत्कालीन समयको राजनीतिक संरचना, राजा-प्रजाको सम्बन्ध, तथा विभिन्न राज्यहरूको बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरेको छ । यस ग्रन्थमा प्रमुखतः हस्तिनापुर, द्वारका, मथुरा, र विदर्भजस्ता राज्यहरूको उल्लेख छ ।हस्तिनापुरको सिंहासनका लागि भएको द्वन्द्व महाभारतको प्रमुख राजनीतिक कथा हो । राजा धृतराष्ट्रका पुत्र दुर्योधन र पाण्डवहरूको बीचको राजनीतिक द्वन्द्वले सम्पूर्ण भारत वर्षलाई प्रभावित पार्छ ।
श्रीकृष्ण अवतार भगवान् विष्णुको २२ औं अवतार हो भने १० मुख्य अवतारमध्ये ८ औं अवतार हो । भगवान् विष्णुले द्वापरयुगमा मथुरामा कंशकी बहिनी देवकी र वासुदेवका पुत्रको रूपमा जन्म लिएका थिए । सनातन हिन्दु धर्म मान्नेहरूका लागि श्रीराम जस्तै श्रीकृष्ण पनि अत्यन्तै लोकप्रिय र पूजनीय छन् । हिन्दु धर्ममा उनको विशेष स्थान छ । रामायणमा रामको जस्तै महाभारतमा श्रीकृष्णको वर्णन र मुख्य भूमिका रहेको छ ।
महाभारत युद्ध सुरु हुनु पूर्व कौरव र पाण्डवपक्ष युद्ध लड्न आम्नेसाम्ने खडा थिए, ठीक त्यही बेला श्रीकृष्णले अर्जुनलाई ती दुवै सैन्यहरूका बीचमा जुन ज्ञान दिए, त्यो ज्ञान श्रीमद्भागवत् गीताको रूपमा विश्वप्रसिद्ध छ । गीता एक यस्तो ग्रन्थ हो जसलाई आज पनि विभिन्न समारोहमा शपथ ग्रहण गर्दा अथवा अदालती कामकारबाहीमा साक्षी बयान गराउँदा गीतालाई छोएर सत्यतथ्य बोल्नेछु भनी शपथ खुवाइने प्रचलन रहेको छ । अर्को शब्दमा हिन्दु माइथोलोजीमा गीता सर्वाधिक पढिने र सबैभन्दा लोकप्रिय पुस्तक हो ।
युद्धको शंख बजिनसकेको बेला अर्जुनमा युद्धप्रति नैराश्यता छाउँछ । आफ्नो नातेदार, भाइहरू, गुरुजनहरू, बन्धुवान्धवहरूसँग युद्ध लड्नुपर्ने देखेपछि अर्जुन यस्तो युद्धको औचित्य नदेखी आफ्नो गाण्डीव बिसाउँछन् । अर्जुनलाई यही निराशाको अँध्यारोबाट कृष्णले ज्ञानको उज्यालोमा ल्याउँछन् । अर्जुन र कृष्णको बीच भएको यही संवाद नै गीता ज्ञान हो जसलाई ऋषि व्यासले टिपोट गरी लिपिबद्ध गरेका हुन् ।
कृष्णको बारेमा हजारौं कथाहरू छन् । गोलाकार रूप प्रतिबिम्ब भएका कृष्णको वर्णन गर्न सजिलो छैन । उनी एउटै समयमा अनेक जीवन बाँच्न सकेका पात्र हुन्, एउटा पूर्ण जीवन । हामी मनुष्य अगाडि–पछाडि, दायाँ–बायाँ र तल–माथि तीन आयामिक जीवन बाँचिरहेका छौं । कृष्ण बहुआयामिक जीवन बाँचेका पात्र हुन् । मनुष्य जीवनभन्दा पर उनी समय, अन्तरिक्ष, ग्रह उपग्रह, तारा, नक्षत्र, जन्म मृत्यु, भूत, वर्तमान, भविष्य त्रिकालदर्शी र परालौकिक जीवन पनि एकै पटक बाँच्न सक्ने पात्र हुन् ।
वर्तमानको जमिनमा टेकेर विगतमा के थियो ? आज वर्तमानमा के छ ? र भविष्यमा के हुनेछ ? त्यसको नतिजासमेत थाहा पाउने असीमित क्षमता भएका पात्र हुन् कृष्ण । उनी गीता उपदेशमा अर्जुनलाई भन्छन्, “यो जति पनि ब्रह्माण्ड छ, त्यो सबै मभित्र छ, तर म यिनीहरू कहीँमा छैन, यी सबभन्दा पर छु म ।” अर्जुनको यही संशय हटाउन कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई दिव्यदृष्टि प्रदान गर्दै आफ्नो विराट स्वरूप देखाउँछन् र अर्जुनको द्विविधा हटाइदिन्छन् ।
कृष्ण यदुवंशी थिए । गोकुलमा गाई चराउने ग्वाला थिए तर उनले द्वारिका नगरी खडा गरी त्यसमा राज गरे । गाई चराउन जंगल जाने र झरी बादल सहँदै रातभर बिताउनेदेखि राजमहलसम्म पुगेर पहलमानहरूसँग कुस्ती खेल्न पनि पुगे । उनी स्वयम् राजा भएनन्, तर उनले धेरैलाई राजा बनाए । उनी प्रत्यक्ष राजनीतिज्ञ होइनन्, तर राजनीतिमा उनलाई कसैले परास्त गर्न सकेनन् । उनी कुनै देश वा राजाहरूका लागि कूटनीतिज्ञ पनि थिएनन् तर आफ्नो कूटनीतिको प्रयोग गरी त्यो युग नै उनले आफ्नो इशारामा चलाए ।
कृष्णले आफ्ना धेरै विरोधीहरूमध्ये थोरैलाई मात्र प्रत्यक्ष वध गरे भने अधिकांशलाई अरूबाट वध गराए जसले गर्दा त्यसको प्रत्यक्ष दोष आफूले बोक्नुपरेन । यो नै उनको कूटनीति थियो । मित्रहरूलाई कसरी आफ्नो पक्षमा राख्नुपर्छ र विरोधीहरू लाई धुलिट्याम पार्नुपर्छ भन्ने ज्ञान कसैले कृष्णसँग सिके हुन्छ । कसैको पनि सबल वा दुर्बल पक्ष पत्ता लगाई त्यसको सही उपयोगद्वारा नतिजा आफ्नो पक्षमा पार्न सक्ने त्यो युगका सबैभन्दा चतुर खेलाडी हुन् कृष्ण ।
जर्मनमा इसाईको दुराचार र अत्याचारबाट आजित भएर सन् १८४८ मा माक्र्सले पनि धर्मलाई अफिम भनेर सतही रुपमा व्याख्यामात्रै गरेनन्, जीवन र जगत अनि राजनीतिक सिद्धान्तहरुमा जटिलता थप्ने काम गरे । तत् बखतमा पश्चिमा मुलुक हरुमा पोपहरुले राज्य चलाउँथे, उनीहरुका प्रवचन सामान्यतया: धार्मिकमात्रै लागे पनि त्यसभित्र राजनीतिक वा शासकीय लालसा लुकेको हुन्थ्यो । भ्याटिकन सिटीसँग अहिले भएको राजनीतिक शक्तिले त्यसको पुष्टि गर्छ । धर्मगुरुहरुमा राजनीतिक वा शासकीय महत्वाकांक्षा जाग्दा त्यसले हिंसा र क्रूरतामात्र निम्त्याउँदैनथ्यो, युद्धको माहोल सिर्जना गरिदिन्थ्यो । धर्मगुरुका प्रवचनहरु अस्थिरताको बीउ बन्ने र राज्यसत्ता वा व्यवस्था परिवर्तनकै ‘क्याटलिस्ट’ बन्ने अवस्थालाई केन्द्रमा राख्दै अभिव्यक्त शब्दावलीलाई आज पनि बोकेर हिँड्नु चाहिँ कुनै पनि कोणबाट सान्दर्भिक देखिँदैन ।
अहिले चर्चा गरिए जसरी यदि संसारभरको विकासका प्रमुख सूत्रधार मानिएका कार्ल मार्क्सले साँच्चिकै युगौंदेखि मानिँदै आएका विभिन्न धर्महरुमाथि यति चोटिलो प्रहार गरेका हुन्थे भने पक्कै पनि त्यसको ठोस कारण र प्रमाणसहित विज्ञान, मानवशास्त्र, समाजशास्त्र र ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादसँग तुलना नगरी अहिलेका दार्शनिक तथा विश्लेषकहरुलाई ‘गृहकार्य’ दिएर छाड्दैनथे । कम्युनिजम आफैंमा धार्मिक छ । सैद्धान्तिक रुपले धर्म र साम्यवादमा धेरै कुराहरु मेल खान्छन् ।
सामाजिक न्याय र समानता, सीमान्तकृतहरुको उत्थान नै साम्यवाद र धर्मका मूलभूत सिद्धान्तहरु हुन् । धर्मले कम्युनिजमका र कम्युनिजमले धर्मका हरेक सिद्धान्तहरुको वकालत गर्छ। साम्प्रदायिक मेल मिलाप र समानताको लक्ष्य बोेकेको हुन्छ । सूक्ष्म अध्ययन गर्ने हो भने धार्मिक संस्थाले कम्युनिष्ट आन्दोलनलाई सहयोग गरेको इतिहास भेटिन्छ । शोषण र गैरकानूनी धन आर्जनको आलोचना एवं विरोध नै कम्युनिजम र धर्मको पारस्परिक केन्द्रीकृत सिद्धान्तहरु हुन् ।
धार्मिक संघसंस्थाहरुमा रहेका विकृति, सङ्गठित अपराध एवं हिंसाको समर्थन न कम्युनिजमले गरेको छ न त धर्मले नै यस्ता कुकार्यहरुको कल्पना गरेको छ । कुनै धर्म र धार्मिक विचारधारामा मात्र केन्द्रित राजनीतिक विचार एवं क्रिया कलाप र यस्ता धर्ममा केन्द्रित राजनीतिक दलहरुबाट समानता, सबै विचार हरुको सम्मान र साम्यवाद असम्भव छ।यी र यस्ता राजनीतिमा मिसाइएका कुधर्म जनताको लागि ‘अफिम’ हो भन्ने व्याख्यालाई तोडमोड गरेर कम्युनिष्टको धर्म हुँदैन भन्ने कुप्रचारको खण्डन पछिल्ला समयमा कम्युनिष्ट नेताहरुबाट नै हुने गरेको पाइएको छ ।
धर्मलाई एक व्यक्तिगत मामिला घोषित गरिनुपदर्छ। समाजवादी प्रायः धर्मप्रति आफ्नो दृष्टिकोणलाई यिनै शब्दमा व्यक्त गर्दछन्। धर्मलाई व्यक्तिगत मामिला मान्नुपर्दछ। धर्मसँग राज्यको कुनै सम्बन्ध हुनुहुँदैन र धार्मिक समाजको सरकार को सत्तासँग कुनै पनि प्रकारको सम्बन्ध रहनुहुँदैन। प्रत्येक व्यक्तिलाई के कुराको पूर्ण स्वतन्त्रता हुनुपर्दछ भने उसले चाहेअनुसारको धर्म मानोस् वा उसले कुनै धर्म नमानोस्, अर्थात् नास्तिक होस्, जुन नियमतःहरेक समाजवादी समाजमा हुन्छ। नागरिकहरूमा धार्मिक विश्वासको आधारमा भेदभाव गर्नु पूर्णतः असहनीय हुन्छ। आधिकारिक कागजातमा कुनै नागरिकको धर्मको उल्लेख मात्र पनि निस्सन्देह समाप्त गरिदिनुपर्दछ।
अहिलेसम्मको ऐतिहासिक विकासक्रमलाई आधार मानेर एक्काइसौं शताब्दीको गतिशील विश्व–परिस्थिति र असाधारण प्रवृत्तिलाई हेर्दा खासगरी अठारौं, उनाइसौं र बीसौं शताब्दीमा प्रतिपादित र विकसित भएका राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणका केही सार्वभौम कुराहरु, केही उच्च आदर्शहरु र केही विशिष्ट सामाजिक मूल्य–मान्यताहरु बाहेक धेरै कुरालाई आधुनिक विज्ञान– प्रविधि, सूचना तथा सञ्चार प्रणाली र अन्य विभिन्नि क्षेत्रको चमत्कारिक विकासले आजको देश र दुनियाँका लागि अपर्याप्त, अनुपयोगी र असान्दर्भिक बनाएकाले यतिबेला हामी एउटा यस्तो संक्रमणकालबाट गुज्रिरहेका छौं, जसमा पुराना दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, अन्य विभिन्न आदर्श, मूल्य– मान्यता हरु एकातिर क्रमिक रुपमा प्रभावहीन र कमजोर बन्दै गएका छन् भने अर्कोतिर नयाँ दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण र आदर्श, मूल्य–मान्यताहरु भने अझ उच्च रुपमा प्रतिपादन हुन सकिरहेका छैनन्।
त्यसैले अठारौं, उन्नाइसौं र बीसौं शताब्दीमा प्रतिपादन भएका राजनीतिक दर्शन, सिद्धान्त, विचार दृष्टिकोण र अन्य आदर्श, मूल्य–मान्यताहरुको आजको समय सापेक्ष पुनर्परिभाषा, पुर्नव्याख्या र पुनर्पुष्टि हुनु जरुरी छ। यसको अर्थ अहिलेसम्म मानव जीवनमा प्रयोग भइरहेका दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यता सबै थन्काइदिने, मिल्काइदिने फाल्तु बनिसके, अब अर्को विकल्प खोज्नु वा रोज्नुपर्छ भन्ने होइन, बरु सत्य के हो भने मानव जातिको ज्ञानको क्षेत्र सानो हुँदैन, त्यो पूर्ण बन्दैन। दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यताको सोधखोज, अध्ययन, अनुसन्धान, व्याख्या, विश्लेषण, सस्लेषण तथा निर्माण सदासर्वदा चलिरहने प्रक्रिया हो।
चेतनामा सँधै दुई आयामहरू रहन्छन्, जसमा पहिलो आयाम व्यक्तिपरक हुन्छ भने दोस्रो उद्देश्यपरक हुन्छ । जब कसैलाई ‘म छु, मैले विभिन्न अनुभवहरू गरिरहेको छु’ भन्ने लाग्छ तब त्यो चेतना व्यक्तिपरक हुन्छ । जब चेतनाले वातावरणबाट सिकेर अरुको भविष्यको लागि समेत सोच्न थाल्दछ त्यो उद्देश्यपरक बन्दछ ।
तर जब हामीले संसारमा कुनै वस्तु वा व्यक्तिलाई देख्छौँ, त्यो हाम्रो लागि त्यो पनि बस्तुगत बन्छ । यसरी मनभित्रको चेतनाले आफूलाई र यो संसारलाई अलग ठान्छ । त्यसैले मानिसका चेतनामा दुई आयाम हुने कुरालाई स्वीकारिएको हो ।जीवले यस संसारबाट कहिले सुरक्षाको कारणले, कहिले डरको कारणले आफ्नो रक्षा बारे सोच्दछ । हामी मनले जिउने भएकाले मनले जिउने मानिसको हरेक कर्ममा डर लुकेको हुन्छ । यसर्थ, केही चिजको बारेमा सचेत हुनुको गुणवत्ता अवस्था, विशेषगरी आफैंभित्र भावनाले ब्युँझनु, बाह्य बस्तु, अवस्था वा तथ्यका बारेमा सचेत हुनुको अवस्था वा प्राप्त तथ्य, यी सबैको योग चेतना हो । चेतना हाम्रो मनको त्यो शक्ति हो जसद्वारा हामीले भित्री भावना, विचार र घटनाहरूबारे बुझ्दछौँ ।
चेतना दिमागमा रहेको शक्ति हो जसले भित्र र यसको वरपरको वातावरणका अवस्थाबारे बुझ्न र त्यसको मूल्याङ्कन गरी आफूलाई सचेत गर्दछ । चेतनाको विकास एक गहिरो अनुभवको श्रृङ्खलाबाट प्राप्त हुन्छ, जुन सरलताबाट जटिलतातर्फ निरन्तर अगाडि बढिरहन्छ ।
यदि साँचो अर्थमा बुझ्ने हो भने, हाम्रो चेतनाको विकासले चीजहरूलाई वास्तविक रूपमा बुझ्न, हेर्न वा अनुभव गर्न सक्षम बनाउँछ । यसमा जति निपुण हुँदै जान्छौँ, त्यति नै हाम्रो चेतना विकसित हुँदै जान्छ । मानसिक वैज्ञानिकहरूका अनुसार फोक्सो जसरी श्वासप्रश्वासको अंग हो, त्यसरी नै मस्तिष्क शारीरिक सूचनाको अंग हो ।
यो नै चेतनाबारेको यथार्थ परिभाषा हो । चेतना पौराणिक कालदेखि नै एउटा रहस्य बनेर आएको छ । चेतनालाई पहिले पहिले परम शक्तिको देन मानिन्थ्यो र चेतना कसरी उत्पन्न हुन्छ ? भन्ने कुरामा गहन अध्ययन भएको पनि थिएन । तर न्युरो वैज्ञानिकहरूले अहिले चेतनाको उत्पत्तिबारे गहन खोज गरेका छन् । जसअनुसार चेतना न्युरोनहरूको तरङ्ग र त्यसको ब्यवस्थित फाइलिङसँग मात्र सम्बन्धित छ ।
दिमागबाट टाढा कतै यसको सार्वभौम सत्ता छैन । तर चेतनाको विषयमा विज्ञान र चेतनावादीहरू बीच उल्टो धारणा छ । चेतनाको सार्वभौम सत्ता स्विकार्नेहरूले अज्ञात सूचना माथिल्लो सत्ता वा इश्वरबाट आउने कुरा स्विकार्छन् ।यो मानसिक प्रक्रियालाई केवल क्वान्टम पदार्थबिचको अन्तरक्रिया मात्र मान्न अध्यात्मवादी हरू तयार हुँदैनन् । उनीहरूका अनुसार दिमागी जागरण र परम सत्ताको सूचना सम्प्रेषणलाई कुनै डिटेक्टरले समात्न सक्दैन । यो कहीँ अन्यत्रबाट आउँछ ।
हरेक मानिसले सिक्नु, जान्नु र बुझ्नुपर्ने कुरा धेरै हुन्छन्। ती कुराहरुमध्ये सबैले विशेषः ख्याल राख्नुपर्ने एउटा कुरा छः प्रकृति, मानव जगत, चिन्तन र ज्ञानका प्रक्रियाहरुका आम नियमहरुको व्यवस्थित ज्ञान दिने माध्यम दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण नै हुन्। यदि दिमागमा दर्शन, सिद्धान्त, विचार दृष्टिकोण चम्किएको छैन भने अरु ज्ञान अपूर्ण बन्छन्।
यसैकारणले चिन्तनशील मानिसले दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणलाई उच्च महत्व दिन्छन्। सरल रुपमा भन्नुपर्दा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण जीवन र जगतलाई बुझ्ने बदल्ने माध्यम हुन्, त्यसैभित्र निश्चित युगको उच्चतम बौद्धिक सारतत्व लुकेको हुन्छ। मानिसहरुले त्यसलाई सारा संसार र संसारिक गतिविधिहरु, प्रकृति र प्राकृतिक घटनाहरु तथा समाज र सामाजिक गतिविधिहरु, आदिलाई हेर्ने, अध्ययन, अनुसन्धान गर्ने र बुझ्ने चिन्तन पद्घतिका रुपमा अनि तिनीहरुको बारेमा व्याख्या र विश्लेषण गर्ने तथा रुपान्त्रण गर्ने कार्य प्रणालीका रुपमा प्रयोग गर्नुपर्दछ।अध्यात्मले मृत्युको बारेमा जानकारी दिएर मृत्युप्रति मान्छेको डरलाई भगाउने काम गर्छ ।
आत्मा कहिलै मर्दैन भन्ने केही हिन्दु दर्शनको मत छ । त्यसैले एक पटक आत्मालाई राम्रोसँग बुझ्न सक्यो भने मात्रै त्यो मान्छे मृत्युबाट डराउँदैन भन्ने अध्यात्मको मत छ ।आर्थिक विकास गरेर र धन सम्पत्ति जम्मा गरेर मात्रै जन्म, मृत्यु, वृद्धावस्था र रोगजस्ता जीवनका समस्याहरूलाई रोक्न सकिँदैन । विश्वका धेरै भागहरूमा यस्ता कैयौँ राज्यहरू, व्यक्तिहरू छन्, जो जीवनका सुख सुविधाबाट परिपूर्ण छन् । धनधान्यले पूर्ण छन् । आर्थिक रूपले विकसित छन् तर त्यहाँ पनि सांसारिक जीवनका समस्याहरू जस्ताको जस्तै छन् । तिनीहरू विभिन्न तरिकाबाट शान्तिको खोजी गर्दैनन् ।सांसारिक भौतिक सुख सुविधाका लागि गलत कार्यमा तल्लीन हुनु नदिन आत्म साक्षात्कारको बाटोमा अग्रसर गराउनु पर्दछ ।
योगाभ्यास र अध्यात्मिक ज्ञानवृद्धिका क्रियाकलापले कर्मचारीहरू भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुनेछन् । यसबाट कर्मचारीले शुद्ध मनले आफैलाई देख्न सक्नेछन् र आफैमा आनन्दित हुन सक्नेछन् । यही नै कर्मचारीको पूर्णताको चिन्ह हो । यही नै जागिरको सार हो । यस आनन्दमय स्थितिमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान सहित स्थापित हुन सक्नेछन् ।यसरी स्थापित भएका कर्मचारी कहिल्यै पनि न्याय र सत्यबाट डग्दैन । आध्यत्मीक सुख प्राप्त भएपछि उसलाई अरू कुनै सुखले आकर्षित गर्न सक्दैन । यही नै भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरूबाट हुने वास्तविक मुक्ति हो । जब यो कुरा कर्मचारीले बुझ्नेछन् । दुःखको कारण र बाटो रोज्ने छैनन् ।