काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दशैं तथा चाडपर्वको अवसरमा पार्टीका सम्पूर्ण संरचनालाई नेतृत्व तथा कार्यकर्ता स्तरमा कुनै किसिमको शुभकामना आदानप्रदान कार्याक्रम तथा चाडपर्वसँग सम्बन्धित सार्वजनिक कार्यक्रम नगर्न निर्देशन जारी गरेको छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा प्रकाशित विज्ञप्ति अनुसार, पार्टीले परम्परागत र व्यापक रूपले हुने सार्वजनिक टिकाटालो, भेला, भोज र शुभकामना कार्यक्रम स्थगित गर्न आह्वान गरेको हो। पार्टीका पूर्व सांसदलाई “रातो पासपोर्ड” र “सांसदको परिचयपत्र” सदन सचिवालयमा बुझाउन पनि अनुरोध गरिएको छ।
जेनजी आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको, देशमा पीडा र शोकाको वातावरण भएको उल्लेख गर्दै रास्वपाले परिवर्तनका लागि विवेक र बलिदान देखाएका नागरिकप्रति सम्मानस्वरूप खासै चाडपर्वजन्य सार्वजनिक उत्सव नगर्न पार्टीका सबै तह र कार्यकर्तालाई आग्रह गरेको छ। पार्टीका झन्डा, ब्यानर वा कुनै किसिमका चाडपर्व कार्यक्रम संयोजन नगर्न पनि विशेष अनुरोध गरिएको छ ।