अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सले चार्टर उडानमार्फत काठमाडौं लैजाने व्यवस्था गरेको छ। प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज आज राति ९ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौंका लागि उड्ने तयारीमा छ।
यात्रुहरू हिजोदेखि गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन्। यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन्। लगातारको वर्षाले सडक यातायात अवरुद्ध भएकाले हवाई टिकट पाउन मुस्किल छ।
‘विपद् परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइट उडाउन थालेका हौं, यसबाट काठमाडौं जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौं,’ पाण्डेले भने।
चार्टर फ्लाइटका लागि नेपाल एयरलाइन्सका प्रतिनिधि अरुण पन्थीसँग सम्पर्क गर्न सकिने छ। आपतकालीन अवस्थामा सर्वसाधारणको सेवा दिने उद्देश्यले नेपाल एयरलाइन्सले भैरहवा–काठमाडौं चार्टर उडान सञ्चालन गरेको हो।