रंगशालामा धुर्मुस–सुन्तलीले दाबी गरेभन्दा ३ करोड कममा काम गरेको सरकारी मूल्यांकन
रामशरण गैरे
रामपुर । भरतपुर महानगरपालिका–१५ रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रंगशालामा धुर्मुस–सुन्तलीले दाबी गरेभन्दा ३ करोड कममा काम गरेको सरकारी मूल्यांकन रिपोर्ट पेस गरीयको छ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजको प्राविधिक मूल्यांकनमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ बराबरको काम गरेको रिपोर्ट भरतपुरमहा नगरपालिकामा पेश गरिएको हो ।
फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ६३ करोड रुपैयाँ खर्च भएको बताएको थियो । समितिमा कलेजकै सहप्राध्यापक इन्जिनियर नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य रहेका थिए ।
पुल्चोक इन्जिनियरिङ कलेज, फाउण्डेसन र भरतपुर महानगरबीच भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय सम्झौता भएको थियो ।
रिपोर्टमा नमूना मैदान, कालोमाटो ढुवानी, दुबो रोपाइँ, मौज्दात सामग्री र स्क्राप मूल्यजस्ता केही रकम समावेश गरिएको छैन। फाउण्डेसनले कार्यालय सञ्चालन, प्राविधिक तथा गैर प्राविधिक कर्मचारी, कार्यालय सहयोगी साथै चौकीदारसमेतको खर्च गरेकाले ४ प्रतिशत कार्यालय सञ्चालन रकम त्यसमा जोडिएको छ । यी वस्तुहरुको मूल्यसमेत जोड्दा फाउण्डे सनले ६० करोडभन्दा बढीको भौतिक काम गरिसकेको छ ।
रंगशालाको प्राविधिक मूल्यांकन विभिन्न ६ निकायले गरिसकेका छन् । भरतपुर महानगरको अडिटले ५७ करोड ९२ लाख बराबरको काम देखाएको छ भने सघन सहरी तथा भवन निर्माण आयोजनाको प्रतिवेदनले ६३ करोड २२ लाख बराबरको भौतिक काम देखाएको छ ।
फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ६३ करोड रुपैयाँ खर्च भएको बताएको थियो । त्यस्तै ३८ करोड रुपैयाँ सरकारी तथा गैरसरकारी सस्थासँगै जनस्तरबाट सहयोग उठेको फाउन्डेसनको अडिट रिपोर्टमा उल्लेख छ । धुर्मुसले रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै सरकारसँग तिरिदिन आग्रह गर्दै आएका छन् ।
३ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा धुर्मुसले ६३ करोड रुपैयाँ खर्च गर्दै काम छाडेका थिए । फाउण्डेसनका अनुसार रंगशाला बनाउँदा विभिन्न पक्षबाट ल्याइएको सामानको १८ करोड ४३ रकम भुक्तानी दिन बाँकी छ । तर, फाउण्डेसनले जम्मा १५ करोड मात्रै भुक्तानी पाउनेछ । ३ करोडभन्दा बढी रकम पाउनुपर्ने प्राविधिक मूल्यांकनमा देखिए पनि सरकारले १५ करोड मात्रै छुट्टाएको छ ।
केही सप्लायर्सले रकम नपाएको भन्दै अदालतमा मुद्दा पनि दायर गरेका छन् । पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । कम्पनीले मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरेको छ ।
रंगशाला निर्माणका लागि विभिन्न स्रोतबाट ३२ करोड रुपैयाँभन्दा बढी सहयोग जुटाइएको थियो । भरतपुर महानगरले ८ करोड ५ लाख, अन्य सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची–महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत ११ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ ।
२०७८ साउन २२ गते रंगशाला निर्माणको काम रोकिएको थियो । त्यतिखेरसम्म निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेशनको दाबी छ । स्रोत जुटाउन नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई पत्र पठाएर निर्माणको स्वामित्व लिइदिन आग्रह गरेको थियो ।
भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।
ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो।
हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको महानगरले जनाएको छ ।
पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलोचरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुईवटा भिआइपी टावर, मैदान सहित पाँच वटा पिच, ड्रेनेज(पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने छ । थपक्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीनतहका सहकारले निर्माण सम्पन्नगर्ने निर्णय गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा अन्तराष्ट्रियस्तरका खेलखेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।
रंगशालामा धुर्मुस–सुन्तलीले दाबी गरेभन्दा ३ करोड कममा काम गरेको सरकारी मूल्यांकन
रंगशालामा धुर्मुस–सुन्तलीले दाबी गरेभन्दा ३ करोड कममा काम गरेको सरकारी मूल्यांकन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

