जापानको राष्ट्रिय प्रहरी निकायका प्रमुख इतारु नाकामुराले पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यालाई लिएर आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
उनले नैतिक रूपमा आफूले जुलाई ८ मा भएको गोलीकाण्डको जिम्मेवारी लिन चाहेको बताएका छन् । अनुसन्धानबाट पूर्वप्रधानमन्त्रीलाई दिइएको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटिहरू देखिएको पत्ता लागेको थियो ।
जापानको नारा सहरमा एउटा राजनीतिक अभियान कार्यक्रममा बोल्दै गरेको अवस्थामा आबेमाथि गोली हानिएको थियो ।
४० वर्षीय बन्दुकधारीले आबेको नजिक पुगेर घरमै निर्मित बन्दकुबाट गोली प्रहार गरेका थिए । ६७ वर्षीय आबेको घाँटीमा दुईवटा गोली लागेको थियो ।
राजीनामा घोषणा गर्दै प्रहरी प्रमुख नाकामुराले पत्रकार सम्मेलनमा भने, “हाम्रो नयाँ सुरक्षा योजना सिफारिस गर्ने प्रक्रियामा हाम्रा सुरक्षा कार्यहरू ताजा ढंगले सुरु गर्नुपर्ने महसुस हामीले गरेका छौँ ।”
आबे जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका थिए । उनी उत्कृष्टताको लागि चिनिएका थिए ।
उनले पश्चिमी क्षेत्रको नारामा भाषण दिइरहँदा सुरक्षा व्यवस्था तुलनात्मक रूपमा निकै हल्का देखिएको बताइएको छ । आक्रमणको भिडियो फुटेज पुनरावलोकन गर्ने सुरक्षा विशेषज्ञहरूले पहिलो गोली प्रहार खेर गएकोबेला अंगरक्षकहरूले तत्कालै आबेलाई सुरक्षा दिन चुकेको रोयटर्सलाई बताएका छन् ।
बीबीसीबाट ।

