चिनियाँ सहरहरूमा सम्बन्धित प्रशासनिक निकायले पुनः ताजा लकडाउन जारी गर्दै सर्वसाधारणको हिँडडुलमा बन्देजहरू लगाउन थालेका छन् ।
एकसाता लामो बिदाकाे बेला कोभिड–१९ संक्रमित नयाँ बिरामीको सङ्ख्यामा तेब्बर वृद्धि भएको पाइएपछि चीनले पुनः लकडाउनको सहारा लिन थालेको हो ।
आगामी साता चीनको राजधानी बेइजिङमा सत्तारूढ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक हुन गइरहेका बेला स्वास्थ्यसम्बन्धी यो सतर्कता अपनाइएको हो ।
सरकारी टेलिभिजन सीसीटीभीका अनुसार पछिल्ला लकडाउन उत्तरी चीनको सान्सी प्रान्तको फेनयाँग सहरमा सोमबारदेखि लागु गरिएको हो । अघिल्लो दिन सो सहरभरि गरिएको परीक्षणमा एकजना व्यक्तिमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको थियो ।
त्यसैगरी भित्री मंगोलिया नजिकको राजधानी होहोटमा स्थानीय प्रशासनले मंगलबारदेखि बाहिरबाट आउने मानिस र सवारी साधनलाई प्रवेश नदिने घोषणा गरेको छ ।
करिब १२ दिन यता होहोटमा २ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । कोभिड–१९ फैलिन नदिन अझै पनि गम्भीर कदम चाल्ने विश्वकै केही थोरै मुलुकमध्ये चीन पनि एक हो ।

