चित्रवन खबर संवाददाता / रूकुम पूर्व :
२०८० जेठ २५ गते, बिहीवार
रूकुम पूर्वमा पहिलो पटक बालबालिकाका सवालमा नौलो प्रकृतिको कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाले प्रश्न सोध्ने र सरोकारवालाहरूले जवाफ दिने गरी सवाल जवाफ कार्यक्रम पुथा उत्तरगंगा गाउँपालिकाले आयोजना गरेको हो । गाउँपालिका भित्रका माध्यमिक र आधारभुत विद्यालयका विद्यार्थीहरूको सहभागितामा सवाल जवाफ कार्यक्रम सम्पन्न भएको हो ।
बालबालिकाले बिद्यालयमा छात्रा शौचालय हुनुपर्ने, बालक्लव सञ्चालनका लागि खर्च ब्यवस्थापन गरिनुपर्ने, पालिकाको नीति तथा कार्यक्रममा बालबालिकाका लागि पनि कार्यक्रम ल्याइनुपर्ने, अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने लगायतका सवाल उठाएका छन् ।
बालबालिकाका प्रश्नहरूको जवाफ दिँदै शिक्षा शाखाा प्रमुख रामप्रसाद खड्काले बजेट अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको भन्दै आगामी दिनमा सुधार गरिने बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शमिर गिरीले सबैभन्दा वढि बजेट शिक्षामा खर्च हुने गरेको भएपनि बालबालिका केन्द्रित हुन नसकेको भन्दै यसलाई सच्याएर जाने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले पालिकास्तरमा क्लव ब्यवस्थापन गरेर बालबालिकाका समस्या हल गर्ने बताउनुभयो । छात्रामैत्री शौचालय बनाईने तथा सेनटरी प्याडको निशुल्क पूर्तिलाई थप ब्यवस्थित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षमा उपाध्यक्षसँग किशोर किशोरी कार्यक्रमलाई थप ब्यवस्थित गर्ने उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष पुनिराज घर्ति मगरले आफुहरू बालबालिकाका समस्याप्रति गम्भिर रहेको भन्दै बजेट अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको बताउनुभयो । बिद्यालयमा गएका स्रोत साधनको सदुपयोग गर्न उहाँको आग्रह छ ।
तीन दिन सम्म चलेको बालक्लवका पदाधिकारीका तथा सदस्यहरुका लागि नेतृत्व विकास कार्यक्रको समापन दिन यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संगठन, बाल अधिकार, नेतृत्व, उद्घोषण, निर्णय लेखन लगायतका विषयमा प्रशिक्षण दिएको छ ।
कार्यक्रमको सहजिकरण गणेश सिर्पाली, इशा ओली, मुना बुढाथोकी र गणेश भण्डारीले गर्नुभएको थियो ।

