राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले पार्टीको जिम्मेवारीबाट अलग हुँदै अब संसदीय भूमिकामा केन्द्रित हुने बताएकी छन्।
श्रेष्ठले आफ्नो राजीनामा बिहीबार पार्टी सचिवालयमा बुझाएकी हुन्। पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को अवधारणालाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै उनले यसअघि पनि सहमहामन्त्री पदबाट राजीनामा दिने प्रस्ताव राखेकी थिइन्। पार्टी सभापति रवि लामिछाने पुनः पदमा फर्किएको दिनमै उनले राजीनामा प्रस्ताव गरेकी थिइन्, तर त्यसबेला पार्टी नेतृत्वले उपयुक्त समय नभएको भन्दै रोकिएको थियो।
पार्टी पुनर्संरचनाको बहस चलिरहेका बेला श्रेष्ठले दोहोरो जिम्मेवारी नलिने निर्णय गर्दै सहमहामन्त्री पदबाट अलग हुने निर्णय लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। श्रेष्ठले आफू पूर्ण रूपमा संसदमा केन्द्रित भएर विधायकी भूमिका निर्वाह गर्ने बताएकी छन्।
उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश गरिनेछ। रास्वपाभित्र अन्य केही पदाधिकारी र विभागीय प्रमुखहरूले पनि राजीनामाको तयारी गरिरहेको स्रोतहरूले जनाएका छन्।

