क्यानडाको भ्यानकुभर शहरमा आयोजित फिलिपिनो सांस्कृतिक ‘लापु लापु डे’ सडक महोत्सवमा शनिबार राति एक कारले भीडमा अन्धाधुन्ध प्रवेश गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य धेरै घाइते भएका छन्।
घटना स्थानीय समय अनुसार राति ८ बजे (E. 41st Avenue र Fraser Street नजिक) भएको हो। प्रत्यक्षदर्शीका अनुसार, कालो रंगको एसयूभी तीव्र गतिमा महोत्सव स्थलमा प्रवेश गरी भीडमा ठोक्किएको थियो। घटनाका बेला महोत्सवमा हजारौं मानिस सहभागी थिए।
व्यानकुभर प्रहरीले ३० वर्षीय पुरुष चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा यो आतंकवादी हमला नभएको र एक्लो चालकको संलग्नता रहेको बताइएको छ।
घटनापछि सामाजिक सञ्जालमा पोस्ट भएका भिडिओहरूमा घटनास्थलमा प्रहरी, एम्बुलेन्स र दमकलसहितका आपतकालीन टोलीहरू देखिन्छन्। सडकमा लडिरहेका र घाइते भएका मानिसहरूलाई उद्धार गर्न स्थानीय र सुरक्षाकर्मीहरू सक्रिय देखिएका थिए।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवार, घाइते र भ्यानकुभरका सम्पूर्ण फिलिपिनो समुदायप्रति समवेदना प्रकट गरेका छन्।
यो घटनाबारे थप अनुसन्धान जारी रहेको र घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण र चालकको मनसायबारे विस्तृत विवरण आउन बाँकी छ।
Photo Source : Rich Lam/The Canadian Press via AP

