परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन्। शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको स्पष्ट पारिन्। मन्त्री डा. राणाले विदेशमा देखेका, भोगेका अनुभव र सीपलाई नेपालमा परिणाममुखी योगदानमा रूपान्तरण गर्न आग्रह गर्दै, “राजनीति गर्ने ठाउँ फरक छ, एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्छ,” भन्दै राजनीति गर्नेहरूले समृद्धि ल्याउने विषयमा स्पष्ट दृष्टि नहुने धारणा राखिन्।
उनले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदायको विकासमा महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै एनआरएनएलाई एकता, सहकार्य र समृद्धिको साझा मञ्च बनाउनुपर्नेमा जोड दिइन्। साथै, मन्त्री डा. राणाले एनआरएनएसँग सम्बन्धित समस्या समाधानमा सरकार सधैं सहजीकरणको भूमिकामा रहने बताउँदै, “मन्त्रालयले हस्तक्षेप गर्दैन, कानुनअनुसार समस्या समाधानमा सघाउँछ,” भनिन्।
यसअघि पनि उनले एनआरएनएभित्रको विवाद र असहमति देशको हितमा नभएको बताउँदै एकता र सहकार्यमा जोड दिएकी थिइन्। सरकारले संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनमा प्रतिबद्धता जनाएको र एनआरएनए कार्ड वितरणमा ढिलाइ भए पनि अब सरकारले समाधानमा पूर्ण ध्यान दिएको उनले आश्वासन दिएकी छन्।

