काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच आज सिंहदरबारस्थित आयोगमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा गहन छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ।
छलफलमा आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जस्यपूर्ण ढंगले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे विस्तृत चर्चा भएको थियो। मुलुकको अर्थतन्त्रमा कोभिड-१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको नकारात्मक असर न्यूनीकरण गर्दै सोह्रौं आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अपनाउनुपर्ने रणनीतिबारे छलफल केन्द्रित रह्यो।
छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथमिकीकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचनालगायत विषयमा आयोगबाट भएका सुधारका कार्यहरूको बारेमा विस्तृत जानकारी प्रदान गरे। यसैक्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गर्न राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने दृढ प्रतिबद्धता जनाए।

