काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन्। शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको स्पष्ट पारिन्। मन्त्री डा. राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन्।
उनले राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन्। परराष्ट्रमन्त्री राणाले गैरआवासीय नेपालीहरूले विदेशमा प्राप्त गरेका अनुभव, सीप र ज्ञानलाई नेपालको विकासमा परिणाममुखी योगदानमा रूपान्तरण गर्न आग्रह गरिन्।
परराष्ट्रमन्त्री राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदायको विकासमा महत्वपूर्ण माध्यम भएको उल्लेख गरिन्। उनले एनआरएनएलाई एकता, सहकार्य र समृद्धिको साझा मञ्च बनाउनुपर्नेमा जोड दिइन्। उनले एनआरएनएभित्रको विवाद र असहमति देशको हितमा नभएको बताउँदै एकता र सहकार्यमा जोड दिइन्।
मन्त्री राणाले एनआरएनएसँग सम्बन्धित समस्या समाधानमा सरकार सधैं सहजीकरणको भूमिकामा रहने बताउँदै मन्त्रालयले हस्तक्षेप नगरी कानुनअनुसार समस्या समाधानमा सघाउने आश्वासन दिइन्। उनले संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनमा सरकारको प्रतिबद्धता जनाएकी छिन्। एनआरएनए कार्ड वितरणमा ढिलाइ भए पनि अब सरकारले समाधानमा पूर्ण ध्यान दिएको उनले आश्वासन दिएकी छिन्।

