काठमाडौं – भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच संघीय संसद् भवनमा छलफल जारी छ। संसद्मा जारी अवरोध हटाउने विषयमा दुई नेताबीच केहीबेरदेखि संवाद चलिरहेको हो।
छलफलअघि प्रचण्डले विपक्षी दलका नेताहरू—माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूसँग बैठक गरेका थिए। बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको छ। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्, तर सत्तापक्ष तयार नभएपछि छानबिन समितिको विकल्पमा छलफल केन्द्रित भएको हो।
कांग्रेस उपसभापति खड्का संसद् अवरोध खुलाउन सक्रिय रूपमा संवादमा छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको राय लिएर खड्काले प्रचण्डसँगको छलफलमा मध्यमार्गी प्रस्ताव अघि सारेका छन्, जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा अनियमितता भए/नभएको समग्र अध्ययन गर्ने प्रतिबद्धता जनाउने र त्यसपछि सदन अगाडि बढाउने तयारी छ। तर, रास्वपाले भने पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको छ।
प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ। नेताहरूले संसद् अवरोध हटाउने गरी संवाद जारी रहेको जनाएका छन्।

