काठमाडौं — सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निष्कासन र भण्डारण रोक्न आदेश जारी गरेको छ। आज न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणका गतिविधि नियन्त्रण गर्न सरकारलाई आदेश दिएको हो। अदालतको आदेशमा कानुन नबनाइकन तथा सरकारी नियमन/निगरानी प्रभावकारी नहुँदासम्म महिला, किशोरीको डिम्ब निकाल्न र भण्डारण गर्न नपाउने स्पष्ट गरिएको छ।
बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइगोनिसिस्ट प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि सो प्रकरणमा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। निवेदकको मागअनुसार अब कानुन बनाएपछि मात्र डिम्ब निष्कासन र भण्डारण प्रक्रिया अघि बढाउन पाइने आदेश आएको हो। अदालतले सरकारलाई डिम्ब निष्कासन/भण्डारणका काममा कडा नियमन र निगरानी गर्न पनि निर्देश दिएको छ।

