चनौली । पश्चिम चितवनको चनौली बजारका ज्येष्ठ महिलाहरुलाई मङ्गलबार एक समारोहका बीच सम्मान गरिएको छ । आमा कल्याण समूह र चनौली बजार व्यवस्थापन समितिद्वारा संयुक्तरुपमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
स्थानीय समाजसेवी महाप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १२ जना ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
आमा कल्याण समूहकी अध्यक्ष कोपिला रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तीजको शुभकामना मन्तव्य राख्दै चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालले तीज एकापसमा भ्रातृत्व र सहकार्यको चाडका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । हरितालिका तीजलाई तडकभडक नगरी सामान्य र कम खर्चिलो गरेर मनाउनुपर्ने उनले बताए ।
आमा कल्याण समूहकी पूर्वअध्यक्ष विष्णुमाया पराजुलीले तीज पर्व बर्खामासमा खेतीको काम सकेर थकित भएका महिलाहरुलाई माइत लगी मीठो र पोषिलो खाना खुवाई निराहार व्रत बस्ने चलन रहेको बताइन् ।
भरतपुर–१८ का निवर्तमान वडाध्यक्ष दीपक लामाले यस्ता कार्यक्रमले आफ्नो संस्कृतिको निरन्तरतासँगै आपसी सद्भाव कायम राख्न सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमबाट आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रममा लोकगायक दीपक ठकुरी, प्रचण्ड पौडेल र राजु लामिछानेसँगै लोकगायिका शान्ता न्यौपाने र शर्मिला गुरूङका विभिन्न सांस्कृतिक प्रस्तुतिले दर्शकहरु झुमेका थिए ।कार्यक्रमको सञ्चालन सन्देश चाँपागाइ र शोभा बारालीले गरेका थिए भने स्वागत मन्तव्य रञ्जना शर्माले गरेकी थिइन।