काठमाडौं — नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा)का अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजार २०० रुपैयाँले बढेर २ लाख ६०० रुपैयाँमा पुगेको हो। यसअघि साउन २३ गते १ लाख ९९ हजार ४०० रुपैयाँको रेकर्ड थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि र अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन यसका मुख्य कारण भएको व्यापारीहरूले बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस २० डलर बढेर ३४१० अमेरिकी डलर पुगेको छ। नेपाली रुपैयाँको विनिमय दर १ डलर बराबर १४०.५१ रुपैयाँ पुगेको छ ।
सुन व्यापारी तेज रत्न शाक्यका अनुसार वैश्विक राजनीतिक अशान्ति र अमेरिकी फेडरल रिजर्भ बैंकले सेप्टेम्बरदेखि ब्याजदर घटाउने अफवाहका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ। ब्याजदर घट्ने डरले लगानीकर्ताहरू सुनतिर आकर्षित भएका छन् ।
मूल्य वृद्धिसँगै घरेलु माग धेरै घटेको छ। एकातिर सुनको मूल्य आकासिएको र अर्कातिर सरकारले २ प्रतिशत विलासिता कर लगाएका कारण उपभोक्ताहरूको चासो घटेको शाक्यले बताए। यसअघि तीजमा दैनिक ४५ किलो सुन बिक्री हुने गरेकोमा यो वर्ष न्यूनतममा झरेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ३६० रुपैयाँ पुगेको छ। सुनको मूल्यमा निरन्तर वृद्धि भएका कारण आउँदो दशैं र तिहारमा पनि माग उल्लेखनीय गिरावट आउने अनुमान गरिएको छ ।

