काठमाडौं — नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णयअनुसार २६ प्रमुख प्लेटफर्म प्रतिबन्धित भएका छन्। तर, प्रतिबन्ध लागू भएको दिन नै फेसबुकको मातृ कम्पनी मेटाले नेपाल सरकारसँग दर्ता प्रक्रियाका विषयमा सम्पर्क गरेको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिहरूले बिहीबार साँझ ४:४५ बजे मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर नेपालमा दर्ता गर्नका लागि आवश्यक कागजातहरूको सूची मागेका थिए। “पाँच मिनेटभित्रै हामीले मेटालाई आवश्यक कागजातको सूची उपलब्ध गरायौं,” ठाकुरले भने ।
सरकारको निर्णयअनुसार सञ्चार मन्त्रालयमा दर्ता नभएका फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, युट्युब, एक्स (ट्विटर), लिंक्डइन, रेडिटलगायत प्रमुख प्लेटफर्महरूमा प्रतिबन्ध लगाइएको छ। हालसम्म टिकटक, भाइवर, वेटक, निम्बज र पोपो लाइभ मात्र दर्ता भएका छन् भने टेलिग्राम र ग्लोबल डायरी दर्ता प्रक्रियामा छन् ।
सरकारले गत साउन १२ गतेदेखि सात दिनको समयसीमा दिएर सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य दर्ता गर्न भनेको थियो। समयसीमा बुधबार राति सकिएपछि बिहीबार मध्यरातदेखि प्रतिबन्ध लागू भएको छ ।
सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार कुनै पनि प्लेटफर्मले दर्ता प्रक्रिया पूरा गरेलगत्तै तत्काल पुनः सञ्चालनमा आउनेछ। मेटाको सम्पर्कपछि फेसबुकलगायतका प्लेटफर्म चाँडै फर्किने सम्भावना बढेको छ ।

यस निर्णयको राजनीतिक र सामाजिक वृत्तमा व्यापक विरोध भएको छ। आलोचकहरूले यसले अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुर्याउने र डिजिटल अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।

