काठमाडौं — सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारको नीतिविरुद्ध चलिरहेको जेन जी आन्दोलनको नेतृत्व लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई युवाहरूले दबाब दिएका छन्। सोमबारदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ” भन्दै व्यापक अभियान सुरु गरेका छन्।
फेसबुक र एक्सलगायत सामाजिक सञ्जालमा यो ह्यास्ट्यागले व्यापक चर्चा पाएको छ। प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेपाली राजनीतिज्ञका सन्तानहरूको विलासी जीवनशैलीको विरोधमा आन्दोलन सुरु गरेका थिए।
सोमबार बिहान ९ बजेदेखि राजधानीको मैतीघर क्षेत्रमा सुरु भएको प्रदर्शन मीनभवनस्थित संसद् भवनसम्म पुगेको थियो। प्रहरीले भिड नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहरा र रबर बुलेट प्रहार गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए। प्रदर्शनका क्रममा १६ जनाको मृत्यु भएको छ ।
मृत्यु भएकाहरूको विवरण:
ट्रमा सेन्टरमा ८ जना
सिभिल अस्पतालमा ३ जना
एभरेस्ट अस्पतालमा ३ जना
काठमाडौं मेडिकल कलेजमा १ जना
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना
राजधानीबाहेक चितवन, कास्की, इटहरी, बुटवल, झापालगायत देशका प्रमुख सहरहरूमा पनि जेन जी आन्दोलनकारीहरूले प्रदर्शन गरेका छन्। शान्तिपूर्ण प्रदर्शन भनिए पनि अधिकांश स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
जेन जीले प्रदर्शनको घोषणा गरेसँगै बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए। आफ्नो उमेर हदका कारण सहभागी हुन नसक्ने बताउँदै उनले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आह्वान गरेका थिए।
युवाहरूले बालेनलाई स्थापित राजनीतिभन्दा फरक विकल्पका रूपमा हेर्दै आएका छन्। उनको इमानदारिता र भ्रष्टाचारविरुद्धको लडाइलाई युवाहरूले उच्च मूल्याङ्कन गरेका छन्।
आन्दोलनकारीहरूले सरकारलाई तत्काल सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न माग गरिरहेका छन्। यदि सरकारले युवाहरूको मागलाई बेवास्ता गरे आन्दोलन थप तीव्र हुने चेतावनी दिएका छन्।

