काठमाडौं — सरकारविरुद्धको आन्दोलन चर्किएसँगै काठमाडौंलगायत देशका विभिन्न सहरमा अध्यक्ष, मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको निवास र दलका कार्यालयमा तोडफोड र आगजनी भएको छ। राजधानीको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास, बालकोटमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास, बुढानीलकण्ठमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, खुमलटारमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भैंसेपाटीमा मन्त्री निवास, धनगढीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, सुनाकोठीमा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बुढानीलकण्ठमा ऊर्जा मन्त्री दीपक खड्का र रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड तथा आगजनी भएको पुष्टि भएको छ।
त्यसैगरी, एमालेका सचिव रघुविर महासेठ, सुरेन्द्र पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घर, दलका पार्टी कार्यालयहरू समेत आक्रमणको निशानामा परेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस तथा एमालेको केन्द्रीय कार्यालयभित्र समेत आगजनी भएको छ।
हाल सुरक्षा निकायहरूले नेताहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया अपनाइरहेका छन्। प्रदर्शन व्यापक बनेपछि थुप्रै स्थानमा सुरक्षाकर्मीहरूको प्रत्यक्ष नियन्त्रण कायम गर्न कठिन भइरहेको छ। राजधानीका प्रमुख संवेदनशील स्थान, विभिन्न मन्त्री तथा नेताहरूको निवास र पार्टी कार्यालयहरू अहिले बाह्य सुरक्षा चुनौतीको घेरामा परेका छन्।
आन्दोलनकारीले देशव्यापी सरकारी सम्पत्ति, नेताहरूको घर तथा कार्यालयलाई निशानामा पार्दा राजधानी तथा तराईका विभिन्न क्षेत्रमा तनाव कायम छ। प्रशासन तथा सुरक्षाकर्मीहरू अहिले उच्च सतर्कतामा परिचालन भइरहेका छन्।

