काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।
प्रचण्डले २०७२ सालमा संविधान बनाउने बेला माओवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र पहिचानको विषयमा फरक मत राखेको स्मरण गर्दै, हालको जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताए। उनको भनाइमा, यदि माओवादीले उठाएका मुद्दा समेटिएको भए वर्तमान संविधानमा देखिएको असन्तुष्टि र आन्दोलनको आवश्यकता आउने थिएन।
अध्यक्ष प्रचण्डले संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजिक पहिचानको प्रत्याभूति गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था अपरिहार्य रहेको बताएका छन्। उनका अनुसार, राष्ट्रिय राजनीति तथा जेनजी आन्दोलनले पुराना दोष सुधार्न संविधानको मूल संरचनामा परिवर्तन जरुरी भएको पुष्टि गरेका छन्।

