काठमाडौं — निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले काठमाडौं र ललितपुरको युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत २४ भदौमा जेनजी आन्दोलनको दौरान स्कूलमा तोडफोड र आगजनीका घटनामा विद्यालय पूर्ण रूपमा नष्ट भएपछि उनले पदत्याग गर्ने निर्णय लिएकी हुन्।
भौतिक संरचना, गाडी लगायत विद्यालयका उपकरणहरू आगजनीमा ध्वस्त भएपछि विद्यालयले कतिपय कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गर्दैछ। अभिभावकको माग र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै राणाले अध्यक्ष पदबाट राजीनामा दिएको विद्यालय प्रशासनले जनाएको छ।
स्कूलले अब नयाँ व्यवस्थापन समिति चयन गर्ने तथा भाडामा भवन लिएर नियमित कक्षा सञ्चालन गर्ने कार्ययोजना अघि बढाएको छ। युलेन्स फाउन्डेशनको स्पष्ट भनाइ छ—राणा विद्यालयको स्वामित्व वा ट्रष्टी नभएर व्यवस्थापन समितिमा मात्र संलग्न थिइन्। सञ्चार र समाजमा फैलिएको अफवाहका कारण विद्यालय थप क्षतिविहीन बनेको फाउन्डेशनले विज्ञप्तिमा उल्लेख गरेको छ।