नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले पार्टी ताजा जनादेशका लागि तयार रहेपनि सरकारले चुनावको स्वतन्त्र र सुरक्षित वातावरण बनाउन नसकेको आरोप लगाएका छन्। मंसिर १२ गते कैलालीको धनगढीमा हुने पार्टी एकता सन्देश सभाको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले सरकारले जेन–जी आन्दोलनका दोषीलाई कारबाही गर्न र चुनावी वातावरण बनाउन चासो नदिएको बताए।
रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीमा बस्न नदिएर अहिले वरीयताको चासो गरेको ब्यंग्य गरे। “मेरो वरीयताको सबभन्दा बढी पिर अहिले ओलीलाई छ, जसले मलाइ पार्टीबाट निकाल्यो, अहिले उहाँलाई वरीयताको पिर भयो,” उनले भने।
भीम रावलले देशको हितमा जिम्मेवारीका साथ काम गर्न आफू नयाँ पार्टीमा लागेको भन्दै वरीयता खोज्ने होइन, सेवा दिने भावना राखेको प्रष्ट पारे। उनले जेन–जी आन्दोलनबाट पाठ नलिई युवा फोर्सका नाममा अपराधमा संलग्न व्यक्तिलाई नेतृत्व दिँदै एमालेले नागरिकलाई डराउन खोजेको आरोप पनि लगाए।
नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा भव्य बनाउन १३ वटा उपसमिति गठन गरी तयारी गरिरहेको र सभा संयोजनमा रावल आफैं संयोजक रहेको जनाइएको छ। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
पार्टी एकता, लोकतन्त्र, शान्ति र निष्पक्ष चुनावको पक्षमा देशभर सन्देश पुर्याउन सभाको महत्व रहेको रावलको भनाइ छ।

