काठमाडौं, फेब्रुअरी २०, २०२६ | काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह “बालेन”विरुद्ध गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का स्थायी बासिन्दा युवराज सफलले गृह मन्त्रालय, सिंहदरबारमा उक्त उजुरी दिएका हुन्।
उजुरीमा बालेन्द्र शाहले आफूखुसी थर परिवर्तन गरेको भन्दै उनको नागरिकता तत्काल रद्द गर्न, पाँच वर्षसम्म कैद गर्न तथा एक लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उजुरीकर्ता सफलका अनुसार शाहले मिति २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट लिएको नागरिकतामा “साह” थर उल्लेख भएको थियो। तर निजले काठमाडौं महानगरपालिकाको मेयर पदमा आसीन भएपछि मिति २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर “साह” बाट परिवर्तन गरी “शाह” बनाएको दाबी गरिएको छ।

उजुरीमा नेपाल नागरिकता ऐन २०६३ को दफा १२ को उल्लेख गर्दै भनिएको छ कि कुनै पनि नेपाली नागरिकले झुटो विवरण दिई नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित भएमा सम्बन्धित अधिकारीले त्यस्तो नागरिकता रद्द गर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ। त्यसैगरी नागरिकता ऐनको दफा १७ बमोजिम कुनै पनि नागरिकले थर परिवर्तन गर्न चाहेको खण्डमा सम्बन्धित निकायमा निवेदन दिई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ।
उजुरीकर्ता सफलले बालेन्द्र शाहले नागरिकता ऐनको दफा १७ को कानुनी प्रक्रिया पूरा नगरी र सम्बन्धित निकायमा निवेदन नदिई स्वेच्छाचारी रूपमा थर परिवर्तन गरेको भन्दै गृह मन्त्रालयले तत्काल आवश्यक अनुसन्धान गरी निजलाई पक्राउ गर्न र नेपाल नागरिकता ऐन २०६३ बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

