काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मन्त्रिपरिषद् गठनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई समावेश नगर्ने दिशामा अघि बढेको छ। पार्टीका उच्च स्रोतका अनुसार यस विषयमा शीर्ष नेताहरूबीच सैद्धान्तिक सहमति भइसकेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ। पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गराउने सहमति अघि नै गरिसकेको छ।
नयाँ मन्त्रिपरिषद् गठनमा विषयगत विज्ञतालाई प्रमुख आधार बनाइने पार्टी स्रोतले जनाएको छ। प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूमध्ये शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, परराष्ट्र र कानुन जस्ता क्षेत्रका विज्ञहरू रहेकाले उनीहरूकै बीचबाट मन्त्री छनोट गरिने तयारी छ। समानुपातिकतर्फ पनि केही विज्ञ सांसद रहे पनि पार्टीले परिणाम दिन सक्ने व्यक्तिलाई मात्र मन्त्रिपरिषद्मा राख्ने नीति अपनाउँदैछ।
यसैबीच निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ। संसद् सचिवालयले चैत १२ गते शपथ ग्रहण र चैत १५ गते संसद्को पहिलो बैठक आह्वान गर्ने तयारी गरिरहेको छ। यो प्रक्रिया पूरा भएपछि मात्र नयाँ सरकार औपचारिक रूपमा गठन हुने अपेक्षा गरिएको छ।

