सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा गरेको सम्बोधनको पूर्ण पाठ —
मै पनि कांग्रेस हुन्थेँ होला।
यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, भौतिक पुँजी भएकाहरूलाई मात्र महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला।
मै पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले दुर्गमको, दूरदराजको, पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबभन्दा अगाडि र सबभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए।
मै पनि कांग्रेस हुन्थेँ होला।
आज ५० वर्षको सभापति पाउँदा गर्वको महसुस गरिरहनुभएको छ। ४० सै वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थेँ होला।
Laxmi bank
र, मै पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले आफ्नो यस्तो लहलहाउँदो रूखलाई छाडेर अर्कै पार्टीको अर्कै चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए।
तर केही छैन, केही छैन। मुलुकको जिम्मेवारी मिलेरै अगाडि बढ्ने हो, मिलेरै लिएर जाने हो।
आदरणीय साथीहरू, मेरो अगाडि तराई–मधेस हल भन्ने दृश्य देखिएको छ। म धेरै तराई–मधेसका प्रतिनिधि साथीहरूलाई पनि यहाँ देखिरहेको छु।
अधिकारको कुरा पनि धेरै चल्छ। यहाँ पनि चल्यो। पहिचानको, अधिकारको धेरै कुरा चल्यो। भाषण, नारा, कागज, घोषणापत्रमा कति आए त्यसको गन्ती छैन।
म त गर्वका साथ मधेसको छोरोलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि आएको हुनाले अधिकार के हो, पहिचान के हो, कागज के हो र व्यवहार के हो भन्ने कुराको आज वकालत गर्न सक्छु कि भन्ने दाबी गर्दै यहाँ प्रस्तुत भएको छु।
त्यसैले खुम्चिनु पर्दैन साथी हो। नखुम्चीकन हामीले अधिकार र पहिचानका मुद्दाहरूलाई स्थापित गर्नका निमित्त तिनलाई क्लस्टरमा विभाजित गरेर कागजमा जम्मा गर्ने होइन, व्यवहारमा लगाउनुपर्ने छ।
र, यसमा हामीलाई गर्व छ।
कहिलेकाहीँ सुनिन्छ — सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ। ढल्छ कि ढल्छ भनेको बडो सुन्छु।
ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ। सरकार ढल्दैन, बिल्कुल ढल्दैन।
किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौं। हामीले इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं।
बाकी रह्यो लोकतन्त्रको रक्षाको कुरा। म यहाँहरूलाई विश्वस्त हुन अनुरोध गर्न चाहन्छु। मैले त्यतिखेर संसदमै भनेको थिएँ, दुई राजनीतिक दलहरू बिना कुनै कारण, बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ।
तपाईंहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ। त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो।
म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्।
लोकतन्त्रलाई खतरा छैन। खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्।
तर लोकतन्त्रको नाममा हामीले विधि, स्थापना गर्ने कुराहरूलाई, मूल्य–मान्यताहरूलाई तोड्दै गयौं भने त्यतिखेर भने सरकार अथवा देश संकटमा पर्छ।
त्यस कारण हामीलाई विस्थापित गर्ने एउटा मात्र अचुक उपाय म बताउन सक्छु।
म सुनिरहेको छु — आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौं। आँधीबेहरीको कुरा पनि सुनिरहेको छु म।
आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौं। अब चुनावबाट मात्रै सरकार फेरौं। चुनावले सरकार फेराउँछ।
र, हामीले चुनावमा जाने बेला भनेका थियौं। थाहा छैन भन्न मिल्छ कि मिल्दैन? यहाँ आउनुभएका कति साथीहरूको मनभित्र गत चुनावमा घन्टीमा भोट हालेको हो कि भन्ने आवाज त मलाई पनि आएको छ। भन्न नमिल्ला बेग्लै कुरा हो।
मैले स्पष्ट रूपमा भनेको छु, लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट, निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ।
जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत ढंगले गरिएको, चुनावै सुरक्षा तैनाथ गरेर गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी अनि विदेशी चलखेलसमेत भनेर जुन भन्दै आइएको छ, म तपाईंहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु — यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा टिप्पणी गर्न बन्द गर्नुहोला।
तपाईंहरू नेपाली कांग्रेसलाई माया गर्नुहुन्छ। तपाईंहरू बिपीलाई माया गर्नुहुन्छ। तपाईंहरू विश्वासप्रसाद कोइरालाको अनुयायी हो भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राख्नुस्। दल छोड्नु पर्दैन। हामीले काम गर्न सकेनौं भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। मैले चुनावमा भनेको यही हो।
तपाईंहरूमध्ये यहीँ उपस्थितमध्ये कति मान्छेले पनि हामीलाई भोट त्यही कारण हाल्नुभएको हो। म आजै यसमा अडिग छु।
नेपाली कांग्रेसको यस ऐतिहासिक मञ्चमा उभिएर म यस कुरामा अझै पनि अडिग छु। र, म मेरै दलका साथीहरूलाई भन्न चाहन्छु — यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सबभन्दा पहिला रास्वपाको सदस्यता च्यात्नु होला।
यति भन्न सक्ने आँट हामीले राखेका छौं।
अर्को महत्त्वपूर्ण कुरा म साथीहरूलाई बताउन चाहन्छु। उपस्थित साथीहरू, हामीले विभिन्न मानिसहरूलाई आरोप लगाइरहँदा, अझ सुरक्षा निकायहरूलाई आरोप लगाइरहँदा हामीले हाम्रा इन्स्टिच्युसनहरूलाई कमजोर बनाइरहेका छौं कि छैनौं, त्यो कुरा जान्न र बुझ्न जरूरी हुन्छ।
हामीलाई त्यो छुट छैन। हामीले आफ्नो स्वार्थका लागि, हाम्रो आफ्नो राजनीतिक स्वार्थका लागि विभिन्न निकायहरूलाई दोष लगाउनु त्यो उपयुक्त हुँदैन। त्यो जनमतप्रति, भोट हाल्ने जनताप्रति अपमान हुन जान्छ।
त्यसैले हामी चाहन्छौं — कुनै पनि किसिमको षड्यन्त्रको तानाबाना बुझ्नुभन्दा जनताकहाँ जाने र जनताले जे भन्छन् त्यही मान्नु नै हाम्रा लागि सबभन्दा उत्तम उपाय हुन्छ।
म यहाँहरूलाई यति नै भन्न चाहन्छु। अहिले रास्वपाको सरकार छ। म यहाँहरूको जायज चिन्ताको सम्मान गर्दछु। विभिन्न राजनीतिक दलहरूले जायज रूपमा चिन्ता अभिव्यक्त गर्नुभएको छ। मुलुक कतै अप्ठ्यारो ठाउँमा पर्ने त होइन, यो ट्र्याकभन्दा बाहिर गइरहेको त छैन, अन्तर्राष्ट्रिय सम्बन्धहरू बिग्रिने त होइनन्, पुँजी बजार बिग्रिने त होइन, अर्थतन्त्र डामाडोल हुने त होइन—यहाँका चिन्ताहरू जायज छन्।
म तपाईंलाई विश्वस्तका साथ भन्न चाहन्छु। थाहा छैन, रास्वपाको उपस्थितिलाई यो छ महिनामा यहाँहरूले कसरी हेर्नुभएको छ, मलाई थाहा छैन। म तपाईंहरूलाई एउटा विश्वास के दिलाउन चाहन्छु भने हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डेग चल्नेवाला छैनौं।
यसका संस्थाहरूलाई बलियो बनाएर, एकीकृत रूपमा हामी नेपाली जनताले त्याग, बलिदान र तपस्या गरेर प्राप्त गरेको यो परिवर्तनको रक्षा गर्नमा अग्रपंक्तिमा उभिने छौं।
राजनीतिक आस्था र विश्वास अलग हुन सक्छ। सरकारको नियत सही छ। कुनै निर्णयहरू विवादमा पर्न सक्लान्, कुनै निर्णयहरू खराब हुन सक्लान्, हामी सच्याउँछौं। तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता त्यसमा दायाँबायाँ हुँदैन। त्यसलाई डगमगाउन हामी दिँदैनौं।
म यहाँहरूलाई विश्वस्त हुनको निमित्त अनुरोध गर्न चाहन्छु।
उपस्थित साथीहरू, मैले अघि नै भनिहालेँ। आज हामीले सिक्नुपर्ने कुरा नेपाली कांग्रेसको इतिहासबाट धेरै छ।
म विशेष गरेर ती महिला नेतृहरू, जसले हिजोको विषम परिस्थितिमा, हिजोको नेपाली समाज, त्यति बेलाका महिला दिदीबहिनीहरूको अवस्था र त्यस्तो विषम परिस्थितिमा पनि राजनीतिमा लागेर लड्दै, भिड्दै, कहीँ भूमिगत हुँदै, कहीँ लुक्दै र भाग्दै पनि राजनीति गरेर राजनीतिको अग्रमोर्चामा उभिएर देशलाई नेतृत्व गर्ने आँट गर्नुभएका ती साहसी तमाम महिला दिदीबहिनीहरूलाई म सलाम भन्न चाहन्छु।
तपाईंहरूको योगदान सामान्य योगदान होइन। आजको दिन तपाईंहरूले गर्नुभएको त्याग, तपस्या र बलिदानले हाम्रो राजनीतिक जीवन तुलनात्मक रूपमा सहज भएको छ।
हाम्रो युगका आफ्नै चुनौतीहरू छन्। हामी तिनै चुनौतीहरूसँग लडिरहेका छौं। तर हिजोको दिनमा तपाईंका चुनौती चानचुने थिएनन्।
चुनौतीको पहाड चढेर तपाईंहरूले हामीलाई लोकतन्त्र दिनुभयो। तपाईंले हामीलाई यो संविधान दिनुभयो। यो व्यवस्था दिनुभयो। यो सबै योगदानका लागि म आज तपाईंहरूलाई हृदय खोलेर धन्यवाद भन्न चाहन्छु।
र, मलाई विश्वास छ, सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ।
सहकार्यको यो सिलसिलालाई रास्वपाले सदैव अंगीकार गर्ने छ र तपाईंहरूसँग लोकतन्त्रको पक्षमा र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु।
आदरणीय साथीहरू, अन्त्यमा म यति भन्न चाहन्छु कि हामीले राजनीतिका कुरा धेरै गर्यौं। अब अर्थराजनीतिको कुराकानी गर्नुपर्ने छ।
अर्थराजनीतिको कुरा गरेर हामीले वैदेशिक सम्बन्धमा सुधार ल्याएर मुलुकलाई एउटा अलग दिशामा लिएर जानुपर्ने हाम्रो जिम्मेवारी आएको छ।
अलिकति फरक पनि लाग्ला। यहाँ साथीहरूले भन्नुभयो— सरकार सहभागी सभापतिले चाहिँ सबै दलहरूलाई मिलाउन खोजेको हुन्छ। तर सरकार छैन, प्रधानमन्त्री छैनन् भन्ने जस्तो कुरा गर्नुहुन्छ। म यो पनि कुरा आज यो मञ्चको सदुपयोग गर्दै सबैलाई स्पष्ट के पार्न चाहन्छु भने यो विषम परिस्थितिमा निर्माण भएको सरकार हो। हामीले कामको बाँडफाँट स्पष्ट रूपमा गरेका छौं।
पार्टीको गतिविधि, पार्टीका बैठक, पार्टीका कामहरूलाई पार्टीको सभापतिले पूर्ण रूपमा हेर्ने, सरकारको गतिविधि, सरकारको कामलाई प्रधानमन्त्रीले जिम्मा लिने। त्यस कारण पार्टीका बैठकमा प्रधानमन्त्री नआउने कुराहरूलाई अस्वाभाविक ढंगबाट अतिरञ्जित नगरिदिनुहुन म अनुरोध गर्न चाहन्छु।
यो अलिकति फरक ढंगको अभ्यासमा हामी लागेका छौं र हामीले परिणाम दिनका लागि केही समय यहाँहरूले प्रतीक्षा गर्नुपर्ने छ।
हामी प्रतिपक्ष र पक्षको बीचमा बाँडिन सक्छौं। हाम्रा मतभेद हुन सक्छन्। तर म तपाईंहरूलाई विश्वासका साथ के भन्न चाहन्छु भने रास्वपाको नेतृत्वमा आएको सरकारले यो देशको वैदेशिक नीतिलाई कमजोर हुन दिने छैन।
यो देशको अर्थतन्त्रलाई कमजोर हुन दिने छैन। हाम्रा सम्बन्धहरूलाई कमजोर हुन दिने छैन। आन्तरिक लोकतन्त्रलाई कमजोर हुन दिने छैन।
हो, नयाँ छौं। केही नयाँ अभ्यासहरू गर्दै छौं। हुटहुटी बोकेका केही साथीहरू देखिनुभएको छ। सार्वजनिक चासोका थोरै साथीहरू हेरेर तपाईंहरूलाई यिनै मात्र हुन् कि भन्ने पनि लागेको होला।
अब्बल क्षमतावान विभिन्न क्षेत्रका साथीहरूलाई हामीले समेटेर यो वातावरण सिर्जना गरेका छौं।
त्यसैले अन्त्यमा म फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि यो अपार जनमतलाई अवमूल्यन गर्ने, यसको हुर्मत लिएर विदेशीले बनाएको, सेनाले भोटिङ प्रभावित पारेको जस्ता अभिव्यक्ति दिएर यसलाई कमजोर पार्ने काम यहाँहरूले नगर्नु होला।
विशुद्ध नेपाली जनताले भोट हालेर आएको रास्वपा हो। र, भोट हाल्नेहरूमध्ये कयौं नेपाली कांग्रेसका प्रतिबद्ध साथीहरू पनि हुनुहुन्छ। उहाँहरूको भोटको पनि अवमूल्यन यहाँहरूले नगरिदिनु होला।
हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौं। कम्तिमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु।
र, फेरि पनि म दोहोर्याएर भन्न चाहन्छु — त्यतिखेर हामीले राम्रो काम गर्न सक्यौं, जनताको मत जित्न सक्यौं भने हामी जनताको नजरमा अगाडि आउने छौं र हामी फेरि सत्तारूढ हौंला अथवा ठूलो पार्टी आउला, एउटा कुनै साइजको हौंला। तपाईंहरू या अन्य दलले गर्यो भने अरू होलान्।
तर त्यतिखेर पनि रास्वपा जत्रो दल हुनेछ, चाहे जिरो सिटको होस्, चाहे सर्वाधिक ठूलो दलको होस्, हामी निर्वाचनको परिणामको हुर्मत लिने गरी विदेशीको चलखेल र अन्य चलखेल भनेर लोकतन्त्रको हुर्मत लिने काम गर्ने छैनौं।
म आज चुनाव हुनुभन्दा साढे चार वर्ष अगाडि यो मञ्चको सदुपयोग गरेर यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
अन्त्यमा मेरो एउटै मात्र अनुरोध छ नेपाली कांग्रेसलाई कि व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नु होला। व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला।
हस्, यो मञ्चका लागि यहाँहरूलाई धेरै–धेरै धन्यवाद।
र, यो परिवर्तनमा आफ्नो सहादत प्राप्त गर्नु हुने, विगतदेखि आजसम्मका जेनजी आन्दोलनसम्मका सम्पूर्ण सहिदहरूप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
र, यो आमन्त्रणका लागि यहाँहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु।
कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदै सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु।
मान्ने नमान्ने तपाईंको जिम्मा।

