काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्। उनकाे याे टिप्पणी कांग्रेस सभापति गगन थापा लक्षित रहेकाे बुझिएकाे छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुला मञ्चमा उद्घाटन भएको थियो। उद्घाटन समारोहमा कांग्रेस सभापति थापाले संसद् खुला हुनुपर्ने धारणा राखेका थिए। उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए।
थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन भइरहेकै दिन सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री शाहको टिप्पणीलाई कांग्रेस महाधिवेशनमा आफूविरुद्ध गरिएको आलोचनाप्रतिको प्रतिक्रियाका रूपमा हेरिएको छ।

