नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल) मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन्। तर, इस्ट बंगाल बेङ्गलुरुसँग १-० ले पराजित भएको छ।
गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए।डेब्युसँगै अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन्।
यसअघि नेपाली खेलाडी अनिल गुरुङ, रोहित चन्द, किरणकुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजालले आइलिग खेले पनि आइएसएलमा मौका पाएका थिएनन्। नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्रीस्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत हुन्।
अनन्त नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी हुन्।

